Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक्लै चुनाव जित्ने दाबी गरेका ओली छटपटीमा,ठूलो चुनौती एकीकृत समाजवादी

एक्लै चुनाव जित्ने दाबी गरेका ओली छटपटीमा,ठूलो चुनौती एकीकृत समाजवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७९ मंगलवार • ०९:५८:२१ बजे
  • 1.2K
    SHARES
  • एक्लै चुनाव जित्ने दाबी गरेका ओली छटपटीमा,ठूलो चुनौती एकीकृत समाजवादी

    स्थानीय तहको निर्वाचन आउन अब १० दिन मात्र बाँकी छ । स्थानीय निर्वाचनको मिति घोषणा हुनुअगाडि एक्लैले सबै स्थानीय तह जित्छु भन्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली हिजोआज गल्दै गएका छन् ।

    images

    एमालेलाई सबैभन्दा ठूलो चुनौती नेकपा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीका कारण एमालेले गएको राष्ट्रियसभा निर्वाचनमा सबै सिट गुमाउनु पर्यो । प्रदेश प्रमुखबाट समेत बाहिरिनुपर्यो । यस हिसाबले हेर्दा पनि गठबन्धनका कारण एमालेले धेरै स्थानीय तह गुमाउने सम्भावना छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि एमालेबाट विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १ सयभन्दा बढी पालिका प्रमुख र १५० को हाराहारीमा उप्रमुख जित्ने दाबी गरेका छन् ।

    त्यसैगरी एकीकृत समाजवादीको ‘कलम’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका १८७ पालिकाका उम्मेदवार मध्ये १५० भन्दा बढी स्थान ज्रित्ने दाबी सो पार्टीले गरेको छ । एकीकृत समाजवादीबाट २४ सय २८ जनाले महानगरदेखि स्थानीय तहको वडा अध्यक्षसम्म उम्मेदवारी दिएका छन् ।

    एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको उपमेयर, इटहरी बुटबल र तुल्सीपुरको उपमयेर जित्ने दाबी गरेको छ । त्यसैगरी एमालेले २ सय ९० प्रमुख र ३ सय ६४ उपप्रमुख, १ सय ३२ पालिका अध्यक्ष, ३ सय ६४ उपाध्यक्ष र ५ हजार ८ सय ९३ वडामा वडाध्यक्षको उम्मेदवारी दिएको छ ।

    एकीकृत समाजवादी पार्टीलाई पाँचदलीय गठबन्धनमा भएका कारण चुनाव जित्न सजिलो भएको छ भने गठबन्धनबाट उठेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई एकीकृत समाजवादीले सघाउँदा एमालेलाई संकट पर्नेे देखिन्छ । एकीकृत समाजवादी र एमालेको भोट बैंक एकै हुँदा समाजवादीबाटै एमालेलाई खतरा रहेको छ ।

    त्यसैले एक्लै चुनाव जित्ने दाबी गरेका ओलीमा छटपटी बढ्न थालेको छ । पाँचदलीय गठबन्धनको एउटै उद्देश्य एमाले हराउनु हो भने, एमालेले ठाउँठाउँमा एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग एक्लै भिड्नुपर्ने छ ।

    बालकोटनिकट स्रोतका अनुसार स्थानीय तहको धेरै ठाउँ गुमाउनुपर्ने रिपोर्ट आएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र कमजोर भएको ठाउँमा उनीहरुसँग सहकार्य गरेर नजिकिने र मत बटुल्ने रणनीति एमालेले अबलम्बन गरेको छ । कतिपय ठाउँमा माओवादी केन्द्र र कांग्रेसको व्यवहारका कारण अपमानित भएका एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई उनीहरु विरुद्ध उकास्न थालेको छ ।

    एमालेले सबैभन्दा अप्ठेरो परेको सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा कतै नेपाली कांग्रेससँग त कतै माओवादीसँग नजिकिएर निर्वाचन सामना गर्ने रणनीति बनाएको छ । तर, अहिलेसम्म यो रणनीतिले सार्थकता पाउन भने सकेको छैन ।

    भरतपुर महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारलाई उचालेर विजयी बन्ने दाउ एमालेको छ । भरतपुरमा रेणु दाहाललाई हराएर पाँचदलीय गठबन्धनको औचित्य समाप्त पार्ने खेलमा ओली लागेका छन् । २०७४ सालको निर्वाचन परिणामलाई हेर्ने हो भने भरतपुरमा एमाले कमजोर छैन । ०७४ को निर्वाचनमा रेणु झिनो मतान्तरले विजयी भएकी थिइन । तसर्थ, कांग्रेसको विद्रोहबाट आफ्ना उम्मेदवारले बाजी मार्ने आँकलन ओलीले गरेका छन् । त्यसैले ओलीले भरतपुरमा जगन्नाथ पौडेललाई ललिपप देखाएको स्रोतको दाबी छ ।

    ०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसीहरूले माओवादी केन्द्रलाई धोका दिएर उम्मेदवार नै नभएको रुख चिह्न भोट हालेका थिए । केही कांग्रेसीले एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीलाई भोट हालेका थिए । २०७४ मा रेणु दाहालले एमालेका देवी ज्ञवालीलाई २०३ मतान्तरले मात्रै पराजित गरेका थिइन । रेणु ४३ हजार १ सय २७ मत ल्याएर विजयी भएकी थिइन् भने देवीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

    उपमेयरमा कांग्रेसकी पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी हुँदा एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् । राप्रपाबाट मेयरका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए । हाल तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने राप्रपा र एमालेबीच भरतपुरमा तालमेल भएको छ । एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादी पाँचदलीय गठबन्धनमा आवद्ध छ ।

    डडेल्धुरामा नेपाली कांग्रेसले कर्ण मल्ललाई कारबाही गरेपछि उनी पक्षीय कांग्रेससँग एमालेले तालमेल गरेको छ । त्यहाँ नेपाली कांग्रेस (वीपी) को चुनाव चिन्ह करुवाका लागि एमालेले भोट मागिदिने र वीपी कांग्रेसले आफ्नो प्रभाव क्षेत्रमा एमालेका लागि सूर्यमा भोट मागिदिने सहमति भएको छ ।

    धनगढी उपमहानगरमा मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रले पाएपनि सम्पूर्ण वडामा गठबन्धनका दलहरू अलग–अलग उम्मेदवार बनेका छन् । वडाहरुको हकमा एमाले कतै नेकपा एकीकृत समाजवादीसँग त कतै माओवादी केन्द्रसँग निकटता देखाएर भोट बटुल्ने गरी अगाडि बढेको छ । तर, पाँच दलीय गठबन्धनका अलग–अलग उम्मेदवारीलाई सार्वजनिक घोषणामार्फत एकले अर्कोलाई सघाएर जाने गरी निस्कृय वा सक्रिय राख्ने तयारी भइरहेको छ । त्यसका लागि केन्द्रको पाँच दलीय गठबन्धनको कार्यदलले छलफल अगाडि बढाइसकेको एकीकृत समाजवादी पार्टीले दृष्टिलाई बताएको छ ।

    सल्यानको बन्गाड कुपिन्डेदह नगरपालिकामा एमालेले नेपाली कांग्रेसको असन्तुष्ट समूहसँग सहकार्य गर्दै मेयरमा उम्मेदवारी दिएको छ । उपमेयरमा कांग्रेसको असन्तुष्ट समूहलाई सघाएको छ । गठबन्धनमा मेयर माओवादी र उपमेयर कांग्रेसले पाएपछि समाजवादीका तर्फबाट उपमेयरमा दिइएको उम्मेदवारी फिर्ता लिइएको छ । आधा कांग्रेस एमालेसँग मिल्ने र आधामात्रै गठबन्धनसँग हुने स्थितिमा एकीकृत समाजवादीको अलग्गै उम्मेदवार भइदिँदा एमालेले जित्ने खतराका कारण उपमेयरमा उम्मेदवारी दिएका जीवन बिसीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    प्युठानको एउटा गाउँपालिकामा एमालेले एकतर्फी रुपमा जनमोर्चासँग गठबन्धन गरेको घोषणा गरेको छ । तर, जनमोर्चाले त्यसलाई अस्वीकार गरेपछि अहिले त्यहाँका एमालेहरु कांग्रेस र माओवादीलाई फकाउन व्यस्त छन् । दाङको तुलसीपुर उपमहानगरमा गठबन्धनको तर्फबाट कांग्रेसको मेयर र एकीकृत समाजवादीको उपमेयरका उम्मेदवार छन् । त्यहाँ एमालेले एकीकृत समाजवादी र कांग्रेसबीच फाटो ल्याउने र माओवादी केन्द्रलाई केही भोट दिलाउने भन्दै आफ्नो दुनो सोझ्याउने कसरत गर्दैछ ।

    यस्तो प्रतिकूलताका बीच निर्वाचनमा भाग लिँदा कस्तो परिणाम आउँछ भन्ने अध्ययन गर्न एमालेले बनाएका टोलीहरूले पनि आफूखुशी रिपोर्ट पेश गरेका छन् । अध्यक्ष ओलीको निर्देशनमा भूगोलको स्थितिबारे जानकारी गराउन भनिएपछि गोकुल बाँस्कोटाले काभ्रेमा ०७४ कै परिणाम सुरक्षित हुने दाबी गरेका छन् । तर, एमालेकै कतिपय नेताले धुलिखेल र बनेपामै अप्ठेरो अवस्था रहेको बताएका छन् ।

    ओलीले बाँस्कोटाको कुरा पत्याएर अप्ठेरो परेको भन्ने त्यहाँका कोही पनि नेताहरुलाई आइन्दा आफ्नो अगाडि नल्याउन भनेका छन् । अर्थात्, ‘हामी कमजोर छौँ’ भन्ने कुरा ओली सुन्नसमेत चाहँदैनन् । थपिएका नयाँ मतदाताभित्र एमाले एक्लैले ६० प्रतिशत मत ल्याउने आन्तरिक प्रक्षेपण गरिएको छ । तर, त्यसलाई एमालेकै नेताहरुले स्वीकारेका छैनन् ।

    ओलीको भक्तिमा तल्लिन नेताहरुले युवा पुस्तामा ओलीको क्रेज बढेको कारण उनीहरुले सूर्यमै मतदान गर्ने भन्दै रिपोर्ट गरेका छन् । अर्काथरि एमालेले भने युवा पुस्तामा ओलीप्रति वितृष्णा बढेको बताएका छन् । यसरी मैदानको स्थितिबारे बुझ्न खोज्दा नराम्रो रिपोर्ट ल्याउनेलाई निषेध गर्ने र राम्रो छ भनी गलत रिपोर्ट ल्याउनेलाई वरिपरि राख्नाले यसपटक एमालेले ठूलो मार व्यहोर्ने एक केन्द्रीय सदस्य बताउँछन् ।

    उदाहरणका लागि विशाल भट्टराईले खोटाङ जिल्लामा एकीकृत समाजवादीका कारण एमालेलाई २५ प्रतिशत क्षति पुगेको रिपोर्ट दिएका छन् । तर, दिक्तेलकी निवर्तमान उपमेयर विणा राईहरूले भट्टराईको रिपोर्ट गलत भन्दै विभाजनका कारण केही फरक नपर्ने बताएका छन् । अहिले बालकोटमा विशाल भट्टराईको कुरा सुनिँदैन, विणाहरुको हाईहाई छ । तर, रिर्पोटिङचाहिँ विशाल भट्टराईको ठीक भएको धेरैजसो एमाले नेताहरु बताउँछन् ।

    ओलीलाई सबभन्दा बढी विश्वस्त बनाएको पालिका हो, काठमाडौं महानगरपालिका । केशव स्थापितले चुनाव जितेर अविर लगाउन मात्रै बाँकी भएको ओलीको मूल्याङ्कन छ । तर, स्थापितका बोली र व्यवहारका कारण मतदाता भाँडिएको पत्तो ओलीले पाएका छैनन् ।

    ओली प्रधानमन्त्री रहँदा सरकारले गुठी जग्गा कब्जा गर्ने नियतका साथ नियमावली बनाएको कुरा काठमाडौंका जनताले बिर्सिएका छैनन् । त्यसबाट नेवार समुदायको मतमा पुग्ने असरबारे थुप्रै नेताहरूले ओलीलाई सुनाइसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology