नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हेमराज शर्मा पोख्रेल यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार भएका पोख्रेल चुनावी अभियान शुरु भएसँगै आफ्नो जित सुनिश्चित भइसकेको दावी गर्छन् । उनको दावी अनुसार गठबन्धनमा आबद्ध दलहरुको घोराहीको जनआधार, गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवारहरुको लोकप्रियता र विपक्षी गठबन्धनका उम्मेदवारहरुले विगतमा जनतासँग गरेका वाचा पूरा नगरेको हुँदा आफूहरुलाई मतदाताले यसपटक अवसर दिने बताउँछन् ।
वि.सं. २०३१ साउन ५ गते दाङदेउखुरीमा जन्मिएका पोख्रेल कक्षा ७ मा पढ्दादेखि नै तत्कालीन अनेरास्ववियू (दशौं) मा संगठित भई राजनीतिक जीवनको शुरुवात गरेका थिए । आफूलाई सहिद कृष्ण सेन ‘इच्छुक’ले विद्यार्थी संगठनमा आबद्ध गराई राजनीतिक यात्रामा सहभागी गराएको बताउने पोख्रेल सेनलाई आफ्नो राजनीतिक गुरुको रुपमा सम्मान गर्छन् । २०४८ सालमा एसएलसी उत्तीर्ण गरी घोराहीको महेन्द्र बहुमुखी क्याम्पसबाट बि.कम. पूरा गरेका उनले राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेका छन् ।
डायमण्ड उपनामले परिचित उनी २०५३ सालदेखि नै माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ताका रुपमा सहभागी भएका थिए । २०५५ सालमा नेकपा माओवादी दाङ जिल्ला सदस्य, २०५९ मा जिल्ला सेक्रेटरी हुँदै २०६० देखि २०६६ सालसम्म दाङको जिल्ला इन्चार्ज र क्षेत्रीय व्यूरोको जिम्मेवारी सम्हालेका उनी २०६६ देखि माओवादी क्षेत्रीय व्यूरो, केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्यसम्मको जिम्मेवारी पनि सम्हालेका थिए । गत पुसमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी स्थानीय तह निर्वाचन २०७९ मा दाङको घोराही उपमहानगरपालिकामा प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा निर्वाचनमा होमिएका उनै डायमण्डसँग निर्वाचनकै सन्दर्भमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
चुनावको घोषणा भएको धेरैपछि मात्र तपाई एकाएक घोराहीमा मेयरको उम्मेदवारका रुपमा अगाडि आउनुभयो । पहिलेदेखि नै मेयरको तयारीमा हुनुहुन्थ्यो कि ?
म २०४८ सालमा भरतपुर क्याम्पसमा पढ्न भर्ना भएदेखि यता ३० वर्षदेखि घोराहीमा बसोबास गर्दै आएको छु । जनयुद्धको समयमा पनि घोराहीका विभिन्न गाउँका बस्तीका जनतासँग एकाकार भएर काम गर्दै आएको हुँ । २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनमा घोराहीकै भूगोलमा बसेर नेपाली कांग्रेससहितका राजनीतिक दलसँग संवाद र छलफल गर्दै जनआन्दोलन परिचालनको भूमिका पूरा गरिएको हो । पहिलो र दोस्रो संविधान सभा निर्वाचन, संविधान निर्माण सम्पन्न भएपछिको स्थानीय, संघ र प्रदेश तहको निर्वाचनमा पनि यही भुगोलमा रहेर निर्वाचन परिचालनको भूमिका पूरा गरेको हुँ । म विद्यार्थीका रुपमा संगठनमा काम गर्दा, जनयुद्धमा सहभागी रहँदा र शान्ति प्रक्रिया सुरु भएयता राजनीतिमा क्रियाशील रहँदा सधैं मेरो मनमा घोराहीसहित सिंगो दाङको विकास कसरी गर्ने, यहाँका जनतालाई कसरी सुख र खुशी दिने भन्ने वियषमा सोचिरहन्थें ।
पार्टी र आन्दोलनमा जोडिएकाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा सर्वसम्मत मेयर पदमा सिफारिस भएपछि गठबन्धन दलहरुको समेत समर्थनमा उम्मेद्वार बनेको हुँ । पहिलेदेखि नै मेयर तयारीमा नभए पनि गठबन्धनले घोराही उपमहानगरपालिकाको मेयर उम्मेद्वार बनाएर उपहानगरपालिकाको विकास र समृद्धिका साथै जनसेवा गर्ने अवसर दिएकोमा म आभार प्रकट गर्दछु । आम मतदाताज्यूहरुमा एक पटक मलाई अमूल्य मतदान गरेर सेवा गर्ने अवसर दिनु हुनेछ भन्ने आग्रह गर्दछु । म मेयरमा निर्वाचित भएमा मेरो क्षमता र दक्षतालाई पूर्ण रुपमा लगाउने र यहाँको विकास र समृद्धी एवम् जनताको हितका पक्षमा दृढतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
घोराही उपमहानगरमा तपाईका चुनावी एजेण्डाहरु के कस्ता छन् ?
घोराही उपमहानगरपालिकामा साझा गठबन्धनको तर्फबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यसम्मको सिंगो टिम नै अघि सारिएको छ । हामीले संस्थागत रुपमै हाम्रो टिमको साझा प्रतिबद्धता पत्र आम मतदातासमक्ष सार्वजनिक गरिसकेका छौं । मतदाताहरुले दिएका सुझावसमेत समेटेर तयार पारिएको साझा चुनावी प्रतिबद्धता पत्रमा घोराही उपहानगरपालिकामा कृषिलाई आधुनिकीकरण, गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, वडा वडासम्म उद्योग, दिगो विकासका लागि सडक पूर्वाधार, स्वस्थ खानेपानी, वैज्ञानिक भू–उपयोग तथा व्यवस्थित सहरी विकासको योजना अघि सारेका छौं ।
यसैगरी पर्यटन क्षेत्रको विकासका लागि नगरस्तरीय योजना, स्थानीय कला–संस्कृति, भाषा र मौलिक पहिचानका लागि विशेष योजना र अभियान, सुशासन र भ्रष्टाचारमुक्त घोराही, सार्वजनिक सेवामा सहज नागरिक पहँुच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार, स्वास्थ्य र राहत व्यवस्थाको लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ ।
यसैगरी युवा र खेलकूदको विकास, सूचना तथा सञ्चारको विकास, घोराहीलाई हिलो धुलोमुक्त नगरका रुपमा विकास गर्ने, स्थानीय तहका वडा र टोलसम्म कालोपत्रे सडक र सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिब किसान, बृद्धबृद्धा, एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना छ । यस्तै कृषकहरुलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्था, कृषक पेन्सनकोे व्यवस्था गरिने छ । विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । यसैगरी चोक चोकसहित सार्वजानिक स्थलमा फ्री इन्टरनेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र विशेषज्ञ चिकित्सक अध्ययन सञ्चालन गर्ने र सरकारी विद्यालय तथा अस्पतालहरुलाई सुविधा सम्पन्न गराउने र नगर स्तरीय सरकारी अस्पताल सञ्चालन गर्ने योजना छ । हाम्रा सबै एजेण्डाहरु साझा प्रतिबद्धता पत्रमा उल्लेख गरिएकाले एक पटक हाम्रो प्रतिवद्धता पत्र अध्ययन गरिदिनु हुन आग्रह गर्दछु ।
तपाईहरुले उठाएका यी एजेण्डाले घोराहीवासीको समस्या सम्बोधन हुन्छ त ?
अवश्य हुन्छ । हामीले विगत लामो समयदेखि घोराहीवासीका समस्यासँग साक्षात्कार गर्दैै आइरहेका छौं । यहाँका मुख्य समस्यालाई आधार बनाएर एजेण्डा तय गरिएका हुन् । कृषिको विकासमा जोड दिएर तय गरिएका हाम्रा एजेण्डा कार्यान्वयन हुँदा घोराहीको आर्थिक विकास, सामाजिक न्याय र सुरक्षा, सुशासन र जनताको सेवामुखी प्रसासन, सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जना हुनेछ । हामी निर्वाचित भएसँगै हामीले घोराही उपमहानगरलाई समुन्नत र विकसित घोराहीमा बदल्न कुनै कसर बाँकी राख्ने छैनौं ।
लोकप्रिय चुनावी एजेण्डा र योजनाहरु अघि सार्नुभयो ? तर गठबन्धनले घोराहीमा जित्ने आधारचाहिँ के– के हुन् ?
घोराही उपहानगरपालिकामा गठबन्धनमा आबद्ध रहेका राजनीतिक दलहरुको जनआधार नै हाम्रो जित्ने पहिलो आधार हो । यस अघिको निर्वाचनमा हामीले प्राप्त गरेको मत संख्या मात्रै आधार मान्ने हो भने पनि हामी १२ हजारभन्दा बढी मतान्तरले विजयी हुन्छौं । यसअघिको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र जनमोर्चाले ल्याएको मत मात्रै हेर्ने हो भने पनि हामी फराकिलो अन्तरले जित्छौं । यसबाहेक केही समय अघि मात्रै नेकपा (एमाले) मा विभाजन हुनु र घोराहीका धेरै नेता कार्यकर्ताहरु एमालेबाट विभाजित पार्टी नेकपा (एकीकृत समाजवादी) मा लाग्नुले हाम्रो प्रतिष्पर्धी दल एमालेको मत विगतको भन्दा स्वतः कम हुन्छ ।
यसबाहेक हामीले उठाएका एजेण्डा र अघि सारेका उम्मेद्वारका अनुहार नै हाम्रो जितको अर्काे आधार हो । यसैगरी संघ, प्रदेशमा गठबन्धनको सरकार छ । स्थानीय तहमा पनि गठबन्धनकै सरकार हुँदा हाम्रो सहज पहुँच हुन्छ, विकासका लागि पर्याप्त बजेट लिन सकिन्छ । केन्द्र र प्रदेशको बजेट नआउने हो भने यहाँ हामीले चाहेजतिको विकास र समृद्धि हुँदैन । त्यसैले केन्द्र र प्रदेशमा जसरी गठबन्धनको संयुक्त सरकार छ, त्यसरी नै घोराहीमा पनि गठबन्धनको सरकार निर्माण गर्नुपर्छ भन्ने जनमत देखिन्छ ।
त्यसैगरी यसअघि घोराहीमा नेतृत्व गर्नुभएका मेयरलाई नै एमालेले पुनः उम्मेद्वार उठाएको हुनाले उहाँ एकपटकको परीक्षणमा आफूले यसअघि गरेका चुनावी बाचाहरु पूरा गर्न असफल भइसक्नु भएको छ । घोराहीवासी आम स्वतन्त्र मतदाताहरुले छिटो छिटो घोराहीको विकास गर्ने नयाँ अनुहारलाई बिजयी बनाउन आतुर हुनुहुन्छ । यी सबै आधारमा भन्दा घोराहीमा हाम्रो जित सुनिश्चित भइसकेको छ । हाम्रो गठबन्धनले घोराहीमा राजनीतिक रुपमा मात्र होइन, चुनावी दौडमा पनि जित हासिल गरिसकेको छ, अव मात्र प्राविधिकरुपमा चुनावी प्रक्रिया पूरा गर्नु बाँकी छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि तपाईको चुनावी प्रचारप्रसारको अभियान कसरी चलेको छ ?
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धनले घोराही उपहानगरपालिकाको मेयर पदमा मलाई र उप–मेयर पदमा भुपबहादुर डाँगीसहित वडा तहसम्म नै साझा उम्मेद्वार अघि सारेको छ । हाम्रो चुनावी प्रचारका लागि पनि हामीले व्यक्तिगत रुपमा नभई गठबन्धनले तय गरेको चुनावी योजना र प्रचार कार्यक्रममा साझा ढंगले सहभागी भइरहेका छौं । चुनावी प्रचारका क्रममा हरेक मतदाता र शुभेच्छुकहरुको घरदैलोमा पुग्न नसके पनि गाउँ टोलमा हुने चुनावी कार्यक्रममा सरिक भई उम्मेद्वारहरुले साझा योजनासहितको प्रतिबद्धता पत्र प्रस्तुत गरी उहाँहरुका समेत सुझाव लिदै अघि बढिरहेका छौं ।
तर, तपाईहरुको पार्टी र गठबन्धनभित्र आन्तरिक विवाद छ भन्ने सुनिन्छ, त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?
गठबन्धनमा रहेका दलहरुभित्र थुप्रै सक्षम र योग्य नेता कार्यकर्ताहरु हुनुहुन्छ । सुरुमा उम्मेद्वार चयन गर्ने क्रममा कसलाई उम्मेदवार बनाउँदा उचित हुन्छ भनेर बहस हुनु, साथीहरुले मतहरु राख्नु स्वभाविकै हो । घोराहीका मेयर र उपमेयर दुवै पदमा सर्वसम्मत रुपमा उम्मेदवारी चयन भएपछि यहाँ कुनै विवाद छैन । सबै एकढिक्का भएर प्रचार प्रसारमा लाग्नुभएको छ । पहिले असन्तुष्ट भएका साथीहरु पनि हामीसँगको छलफलपछि काममा फर्कनुभएको छ । उम्मेदवारी चयन भइसकेपछि मेयर र उपमेयरका उम्मेदवारहरुका बारेमा एक जनाले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छैन । यसअघि मेयरको उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता भुपबहादुर डाँगी अहिले उपमेयरमा उम्मेदवार हुनुहुन्छ । हाम्रो संयुक्त गठबन्धनलाई जिताउन दुवै पार्टीका नेता र कार्यकर्ताहरु सबै एकतावद्ध भएर लागिरहनु भएको छ । हामी चुनावी अभियानमा अघि बढिसकेपछि पार्टीका सदस्य र शुभेच्छुकको दायित्व पार्टीका उम्मेदवार जिताउने हो । यस्तो बेला वादविवाद गरेर समय खेर फाल्ने समय हाम्रा नेता कार्यकर्ताहरुलाई छैन । चुनाव सकेपछि हामीले समीक्षा गर्नेछौं । केही गल्ती भएको रहेछ भने त्यसबाट शिक्षा लिने छौं । अहिले हामीले खासै विवाद छैन । पार्टीनिकट साथीहरुले निर्णय विपरित हाल्नुभएका उम्मेदवारी पनि फिर्ता लिइरहनु भएको छ । अझै केही असन्तुष्टि रहेछन् भने पनि मतदान गर्नु अघिसम्म समाधान हुन्छ भन्ने विश्वास छ ।
तपाईहरु अघिल्लो निर्वाचनमा झै एक्लै चुनावमा नगएर किन गठबन्धन गर्नुभयो ? केन्द्रबाटै गठबन्धन गर्दा देशका ६ मध्ये ३ महानगरपालिका र ११ मध्ये ७ उप महानगरपालिका नेपाली कांग्रेसलाई मेयरको उम्मेदवार दिएर माओवादी भरतपुर महानगर, घोराही र जितपुरसिमरा उपमहानगर गरी ३ वटामा मात्रै सीमित हुनुपर्ने बाध्यता किन आइप¥यो ?
तपाईलाई थाहै छ, अघिल्लो पटकको स्थानीय तह निर्वाचनपछि संघ र प्रदेशको चुनावमा माओवादी र एमालेबीच सहकार्य र पार्टी एकता नै गरेर नेकपा बन्यो । माओवादीको बलमा एमाले अध्यक्ष केपी ओली दुई तिहाइ मतसहित नेकपाबाट प्रधानमन्त्री हुनुभयो । ७ प्रदेशमध्ये ६ प्रदेश नेकपाकै सरकार थियो । तर केपी ओलीले लोकतान्त्रिक मूल्यमान्यता विपरित चल्नुभयो । मिडिया विधेयक, गुठी विधेयक, मानव अधिकार विधेयकसहित काला कानूनहरु संसदमा पेश गर्न थाल्नुभयो । अध्यादेश जारी गरेर संवैधानिक हकमा अंकुश लगाउनु भयो । जनताका अधिकार र मौलिक हकमा लात हान्नुभयो । संवैधानिक आयोगमा अध्यादेशबाट नियुक्ति गर्नुभयो । त्यसको विरोध गर्दा संसद विघटन गर्नुभयो । पार्टीको बहुमतले विरोध गरेपछि पार्टी नै फुटाउनु भयो । अदालतले संसद विघटनलाई गैर संवैधानिक ठहर गरेपछि पनि फेरि संसद विघटन गर्नुभयो । यस्तो अवस्थामा केपी ओलीको गैरसंवैधानिक गैर लोकतान्त्रिक कार्यको विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीसहितका दलहरुको बीच गठबन्धन बन्यो । सोही गठबन्धनको आन्दोलन समेतको बलमा ओलीलाई सत्ताबाट खसालियो । अहिलेको गठबन्धन लोकतन्त्र जोगाउन र संविधानको रक्षाका लागि बनेको हो । प्रतिगामी केपी ओली प्रवृत्तिलाई निर्वाचनमार्फत् परास्त गर्न चाहेका हौं । पार्टी केन्द्रले निश्चित मापदण्ड बनाएर तालमेल गरेको छ । त्यसलाई गठबन्धनको सच्चा सिपाहीको हैसियतले इमान्दारीतापूर्वक पालना गर्छौं । अहिले बहस कसले कति र कुन पद पायो भन्ने होइन । हामी गठबन्धनका साझा उम्मेद्वार सबैको जित नै प्रतिगमनविरुद्धको जित हो ।
तपाईहरु निर्वाचित भएपछि आगामी पाँच वर्षमा घोराही कस्तो बन्ला त ?
धेरै महत्वपूर्ण प्रश्नका लागि तपाईलाई धन्यवाद ! हामी घोराहीवासीको भाग्य र भविष्य बदल्न उम्मेद्वार बनेका हौं । हामीसँग आगामी पाँच वर्षमा घोराहीलाई कस्तो बनाउने भन्ने स्पष्ट योजनासहितको खाँका छ । हाम्रो जितपश्चात् दिनरात नभनी घोराहीवासीको सेवा र यहाँको विकासका लागि खटिने छौं ।
कार्यालय विदाका दिन तपाई मतदाताहरुकै घर घरमा आएर तपाईका समस्या के छन् र हामीलाई सुझाव के छ भनेर बटुल्ने छौं, अनि त्यसै आधारमा काम गर्नेछौं । हामीले घोराहीको मुहार फेर्ने वाचा गरेका छौं, त्यो पूरा गरेरै छोड्ने छौं । हामीलाई यसपटक मौका दिनुहोस्, पाँच वर्षपछि तपाईले देशको सबैभन्दा ठूलो यो उपमहानगर घोराहीलाई नेपालको सबैभन्दा नमूना उपमहानगरपालिकाका रुपमा पाउनु हुनेछ ।