भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी गर्नु भएको हो । सङ्कल्प–पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक रु ५ हजार भत्ता दिइने सहितका कार्यक्रम समावेश गरिएको छ ।
विद्यालय शान्ति क्षेत्रको मान्यता दिँदै २० प्रतिशतसम्म बजेट विनियोजन गरिने छ । सङ्कल्प–पत्रमा एक परिवारलाई मासिक ६ हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गरिने उल्लेख छ ।
त्यसैगरी दूधमा प्रतिलिटर रु तीन दिइँदै आएको अनुदानलाई बृद्धि गरिनेछ । विपन्न, मजदुर, किसानलाई ५८ वर्षको उमेरपश्चात पेन्सनको व्यवस्था मिलाइने सङ्कल्प प्रस्तावमा उल्लेख छ ।
सोह्र वर्ष मुनीका बालबालिकाको स्वास्थ्योपचार निःशुल्क गरिनेछ । घरघरमा कम्तिमा एक जनालाई रोजगारको अवधारणालाई आत्मसाथ गर्दै स्वःरोजगारको सृजना गर्ने वातावरण बनाइने सङ्कल्प–पत्रमा उल्लेख छ । विद्यालय उमेर नाघेका निरक्षर किशोर किशोरीका लागि सरकारी तवरबाटै खुला विद्यालय स्थापना गरिने छ ।
जिल्लाभित्र रहेका ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरू, दर्शनीयस्थल, गडी र झर्ना आदिकोे पहिचान, पूर्वाधार विकास तथा सौन्दर्यकरण गरी जिल्ला भ्रमणको प्याकेज निर्धारण गरी पर्यटक आकर्षण बढाइने छ । प्राङ्गारिक खेती उत्पादन गर्ने वडालाई प्राङ्गारिक वडा घोषणा गरिने छ । जलवायु अनुसारको फलफूलको बोट बिरुवा रोप्न ‘एक बोट, सयको नोट’ नारासहित प्रोत्साहित गरिने, अव्यवस्थित खरका घरमा जस्तापाता गराइने छ ।
प्रतिपरिवार ३० यूनिटसम्म विद्युत् उपभोग गर्नेलाई निःशुल्क गरिनेछ । वडाभित्र रहेका ६ मिटरको मापदण्ड पूरा गरेका सबै सडकहरू कालोपत्र गरिनेछ । वडा तहमा कम्तिमा दुई वटा सुलभ मूल्यका सहकारी पसल स्थापना र संचालन गर्ने वा गरेका संस्थालाई आर्थिक सहयोग गर्ने, स्वदेशी उत्पादनका सामग्रीको व्यापार गर्ने फर्मलाई करका दरमा सहूलियत दिइने व्यवस्था गरिने सङ्कल्प–पत्रमा उल्लेख छ ।
एकीकृत सम्पति करलगायत स्थानीय करका दर रेटमा पुनरावलोकन गरी दोहोरोतेहोरो कर खारेज गरिनेछ । सामाजिक सङ्घसंस्थालाई निश्चित मापदण्डको आधारमा वर्गीकरण गरिनेछ । नारायणी कलामन्दिरलाई कला केन्द्रहरूको स्तरोन्नती गरिनेछ । उपभोग्य सामग्रीहरूमा उत्पादन गर्ने कम्पनी, ट्रेड मार्क, उत्पादन भएको मिति, ब्याच नं, उपभोग गर्न मिल्ने समयावधि सहितको विवरण अनिवार्य गरिने, महानगरमा ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययन गरी महानगर, उद्योग वाणिज्य सङ्घ समेतको साझेदारीमा अर्को पाँच वर्षभित्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने सङ्कल्प गरिएको छ ।
जिल्लामा चक्रपथ रामनगरदेखि पहाडको फेदिहुँदै पिपलटार, खेतबारी, स्याङदी, गर्दास, गैरीबारी, शक्तिखोर, जुटपानी, पिठुवा चैनपुर, भण्डारा, लोथरहुँदै लोथरखोला र राप्ती खोलाको तटबन्धनसहित भण्डारा कुमरोज सौराहा पटिहानी जगतपुर, चनौली, मेघौली, गोलाघाट, नारायणीको किनारै किनार तटबन्धनसहित गुञ्जनगर, झन्नझने, शिवघाट रामघाट नारायणगढ हुँदै रामनगरसम्म अत्याधुनिक वातावरणमैत्री सडक शुरु गरिने उल्लेख छ ।
कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी दाहाल र उपप्रमुखका प्रत्यासी अधिकारीले महानगरको विकासका लागि गरिएका सङ्कल्प पूर्ण रूपमा कार्यान्वयनका लागि लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चित आवश्यक रहेको बताए । सो अवसरमा काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपानेको उपस्थिति थियो ।
सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभा गर्ने भएको छ । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो ।
उक्त सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने, ‘प्रधानमन्त्री ज्यू र माओवादी केन्द्रका अध्यक्ष सहभागी हुनुहुन्छ । बाँकी नेताहरूको हकमा कुराकानी भइरहेको छ ।’ चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा गठबन्धनबीच चुनावी तालमेल भएको छ ।’
कांग्रेसबाट गठबन्धनका उम्मेदवारबिरुद्ध उठेका बागी उम्मेदवारका कारण भरतपुर महानगरपालिकामा चर्चामा छ ।भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन् । गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
पौडेललाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका नेताले भरपुर प्रयास गरेपनि उनी ब्याक भएका छैनन् । बागी उम्मेदवार पौडेलले सत्ता गठबन्धनका रेणुलाई चुनौती दिएका कारण भरतपुर गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ ।