नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन एमाले अध्यक्ष केपी ओली पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि पराजित मानसिकतामा पुगेको बताएका छन् ।
गृहजिल्ला रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप समेत लगाए ।
‘बाहिर धाकधक्कु लगाउनुभयो भने उहाँ धेरै गल्नुभएछ भन्ने हुन्छ । बाहिर एकताको विरोध गर्नुभयो भने एकता खोज्दै हुनुहुन्छ र एकताको कुरा गर्नुभयो भने टुटफुट गर्दै हुनुहुन्छ भन्ने हामी बुझ्छौं ।
ओलीजी जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न । हिजो यो कुरा हामी मात्र बुझ्थ्यौं, तर आज आमजनताले चिन्ने मौका पाएका छन्’, उनले भने ।
ओली र एमालेको मुल नेतृत्व दक्षिणपन्थी यात्रामा रहेको भन्दै उनले संविधान च्याततुच पर्ने, व्यवस्था कमजोर पार्ने र अन्ततः पुरानै व्यवस्थामा फर्काउने उद्देश्य ओलीले राखेको बताए ।