जनकपुर, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा बोल्ने कारबाही गर्ने चेतावनी दिएका छन् । पाँच दलीय गठबन्धनले आज जनकपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको विरोधमा जानेलाई कार्बाही गर्ने बताएका हुन्।
‘गठबन्धनको बिरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारीहरुका लागि पार्टीमा कुनै स्थान छैन’, देउवाले भने, ‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन बिरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुने छैन।’
आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशभित्र रहेको नागरिकता समस्या समाधान गर्न गम्भीर रहेको र नागरिकताबाट कोही पनि बञ्चित नरहने बताए। देशभित्र रहेका नागरिकता लगायतका समस्या समाधान गर्न तथा संघीयतालाई संस्थागत गर्नका लागि गठबन्धनको आवश्यक्ता रहेको उनले दावी गरे ।
उनले भने ‘प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृत्तिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अब कुनै पनि हालतमा नागरिकताको समस्या समाधान गर्ने बताए। चुनावी सभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफुहरुले नागरिकताको समस्या समाधान गर्न प्रयास गर्दा पनि नेकपा एमालेको कारण समस्या समाधान हुन नसकेको बताए ।
उनले भने, ‘नागरिकताको समस्या समाधान गर्न हामीले छलफल गर्यो । सर्वोच्च अदालतले सदनबाटै यसलाई लग्न भनेपछि सदनबाट लग्न खोज्दा एमालेले सदन नै चल्न दिएनन् ।’ सदन खुल्नेबित्तिकै नागरिकताको समस्या समाधान हुने भन्दै अध्यक्ष प्रचण्डले अब एमालेले सदनमा अवरोध गरे पनि त्यसका बाबजुद नागरिकताको समस्या समाधान गर्ने दावी गरे ।
उनले केपी ओलीले संसद विघटन गरेपछि बनेको गठबन्धनमा कडा मिहिनेत पछि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा मिलाउन सफल भएको समेत बताए । उनले गठबन्धन आगामी दिनसम्म समेत कायम रहने बताए ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए । पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गर्दै अध्यक्ष यादवले विगत भन्दा जनकपुरधाम सप्रेको बताए । उनले जनकपुरधाम अझै सुन्दर र व्यवस्थित नगरी बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीसँग अपिल समेत गरे ।
त्यस्तै काँग्रेसका नेता रामचन्द्र पौडेलले जनकपुरधाममा स्वतन्त्र उम्मेदवार भारी रहेकाले गठबन्धनका नेताहरुले सचेत भएर चुनावी प्रचारप्रसारलाई तिव्रता दिनुपर्ने बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि समेत कार्यकर्तामा अपिल गरे ।