नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् ।
नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे ।
‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले भने, ‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो । मैले बुद्धिजीवी,शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन् ।’
उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरुले प्रयोग गर्ने उनको भनाइ थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् । ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन् । त्यसको प्रतिवाद गर्दै ओलीले भने, ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ? हामीले नजितेका क्षेत्रमा बजेट दिँदैनौँ भन्न पाइन्छ ?’
केही दिन डडेल्धुरामा आयोजित चुनावीसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीपत्नी आरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिन नसकिने बताएकी थिइन् । ओलीले विकास बजेट कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।