रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।
उम्मेदवारको घरमा विस्फोट, एकजना घाइते
नेकपा एमालेबाट रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा उम्मेदवार बनेका सोमनाथ पाठकको घरमा विस्फोट भएको छ । आज (शुक्रबार) करिब साढे चार बजे पाठकको घरमा विस्फोट भएको हो ।
विस्फोटमा परी पाठकका श्रीमती ४५ वर्षीया जयमाला पाण्डेय घाइते भएका छन् । उनलाई उपचारको लागि भैरहवा पठाइएको छ । झ्यालबाट कसैले बम हानेको आशंका रहेको सोमनाथ पण्डेयले बताए ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले भने सिलिन्डर विस्फोट भएको हुन सक्ने जानकारी दिएका छन् । यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट
संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको छ । चैनपुर नगरपालिका ४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्यांगमा विस्फोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।
‘सो विद्यालयमा मतदान केन्द्र थियो, मतदान कार्य सकिइसकेको बेलामा नजिकैको बाँसझ्यांगमा विष्फोटको आवाज आयो’, एसपी राईले भने ‘अहिले नेपाली सेनाको टोलीले सो क्षेत्रको अनुसन्धान गरिरहेको छ ।’