Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यी ३४ वर्षीय शुक्र चुमान ‘माओवादी बालेन’, जसले गाउँपालिकामा पार्टीलाई आश्चर्यजनक जीत दिलाए

यी ३४ वर्षीय शुक्र चुमान ‘माओवादी बालेन’, जसले गाउँपालिकामा पार्टीलाई आश्चर्यजनक जीत दिलाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • ०९:३८:०६ बजे
  • 2.0K
    SHARES
  • यी ३४ वर्षीय शुक्र चुमान ‘माओवादी बालेन’, जसले गाउँपालिकामा पार्टीलाई आश्चर्यजनक जीत दिलाए

    पहिलो स्थानीय तह निर्वाचन (२०७४) मा तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी केन्द्र झण्डै सून्य अवस्थामा थियो। अध्यक्ष–उपाध्यक्ष जित्नु त परै जाओस्, ६ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले एउटा वडापनि जित्न सकेको थिएन। गाउँपालिकाभरि माओवादी केन्द्रले वडा नं १ को एक वडासदस्यमा मात्र विजयी भएको थियो।

    images

    त्यो निर्वाचनमा गाउँपालिकाभरि माओवादी केन्द्र ‘नील’ हुनबाट त्यही एक वडा सदस्य पदले जोगाएको थियो। गाउँपालिकाको नेतृत्वमा पनि माओवादी केन्द्रका उम्मेदवारहरु तेस्रो स्थानमा थिए। नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार ५ सय ८९ मतसहित विजय हासिल गर्दा एमालेका सन्तबहादुर केसीले २ हजार २ सय ४२ मत प्राप्त गरेका थिए। त्यो निर्वाचनमा तेस्रो स्थानमा पुगेका माओवादी अध्यक्षका उम्मेदवार प्रेमबहादुर गुरुङ्गले जम्मा १ हजार ५ सय ८४ मतमात्र प्राप्त गरेका थिए।

    उपाध्यक्षमा पनि कांग्रेसले बाजी मारेको यो गाउँपालिकामा माओवादी उम्मेदवार रजनी चुमानले १ हजार ४ सय ६९ मतमात्र प्राप्त गरेकी छन्। तर, यसपटकको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले यो पालिकाको निर्वाचनको परिणाम उलटपुलट पारिदिएको छ। एक्लै निर्वाचनमा होमिएको माओवादी केन्द्रका अध्यक्षका ३४ वर्षीय उम्मेदवार शुक्र चुमान ३ हजार ९ सय ४० मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन्।

    पराजित कांग्रेस उम्मेदवार गिरबहादुर थापाले २ हजार २ सय ३० मत प्राप्त गरेका छन्। उनी २०७४ मा निर्वाचित गाउँपालिका अध्यक्ष पनि हुन्। उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दुर्गा अर्याल २ हजार ८ सय ४८ मत सहित विजयी भएकी छन्। खासमा ६ नं वडामा खसेका १ हजार १ सय ५५ मत गणना बाँकी रहँदा चुमानले विजय हासिल गरिसकेका थिए।

    किनभने, तर, चुमानलाई प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार थापा भन्दा १ हजार ५ सय १५ बढी मत प्राप्त भइसकेको थियो। त्यसैले, विजयको माला पहिरिन उनले अन्तिम मतगणना कुर्नै परेन। चुमान आफू अध्यक्षमात्र निर्वाचित भएका छैनन्, उपाध्यक्ष गाउँपालिकाका ६ मध्ये ३ वटाको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरुलाई जित दिलाएका छन्।

    वडा १ र २ नं मा प्यानलसहित विजय हासिल गरेको माओवादी केन्द्रले वडा नं ५ मा वडाध्यक्ष र २ वटा वडासदस्यमा विजय हासिल गरेको छ। वडा नं ६ मा माओवादी केन्द्रका उम्मेदवार ३ मतको अन्तरले मात्र पराजित भएका छन्। २०७४ मा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र कसरी पाँच वर्षपछिको निर्वाचनमा बहुमत वडासहित यति ठूलो मतान्तरमा विजयी हुने स्थिति पुग्यो? ‘दुई वर्ष यो गाउँपालिकामा पार्टीले गरेको मिहिनेतको परिणाम हो– अहिले हामीले प्राप्त गरेको जीत’ ३४ वर्षीय चुमानले भने, ‘हामी केही युवाहरु गाउँपालिकाका स्थानीयवासीहरु के चाहन्छन् भन्ने कुराको सर्वेक्षण गरिरहेका हुन्थ्यौँ। यसका लागि अभियान सञ्चालन गरिरहेका थियौँ।

    त्यो अभियानको परिणाम अहिले प्राप्त भएको छ।’ उनका अनुसार, स्थानीयवासीहरुले चुमानसहितका युवाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीको विषयमा गम्भीर बन्न सुझाव दिने गरेका थिए। ‘उनीहरुबाट प्राप्त सुझावलाई नै हामीले हाम्रो चुनावी एजेण्डा बनायौँ’ उनले भने, ‘स्थानीयबाटै प्राप्त सुझावलाई यो निर्वाचनको एजेण्डा बनाउँदा उनीहरुले त्यसमा अपनत्व महसुस गरे।

    त्यसैले, विजय हासिल गर्न सम्भव भयो।’ माओवादी केन्द्रको विजयमा पार्टी सदस्यता विस्तार अभियानले पनि भूमिका खेल्यो। जस्तो, पुषमा सम्पन्न एकता महाधिवेशन अघिसम्म गाउँपालिकामा माओवादी केन्द्रको सदस्यता संख्या २ सय ५० मात्र थियो। तर, महाधिवेशनक्रममा सञ्चालन गरिएको सदस्यता अभियानमा सदस्य संख्या बढेर १ हजार ३ सय पुगेको उनी बताउँछन्।

    ‘हामी दुई वर्षसम्म निरन्तर जनताको बीचमा थियौँ, त्यसको सकरात्मक असर पार्टी सदस्यता विस्तारमा पर्यो, धेरै जनताले माओवादी केन्द्रको सदस्यता लिनुभयो’ चुमानले थपे, ‘हामीले २०७४ को निर्वाचनमा १६ सय मत प्राप्त गरेका थियौँ। तर, महाधिवेशनअघि गाउँपालिकामा हाम्रा पार्टी सदस्य नै १ हजार ३ सय पुगिसकेका थिए।’ गोर्खाको सीमानामा रहनुपनि यहाँ माओवादी केन्द्रले आश्चर्यजनक रुपमा विजय हासिल गर्नुको अर्को कारण हो।

    माओवादी जनयुद्धको प्रभावक्षेत्र मानिने गोर्खामा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले ११ मध्ये जम्मा तीन पालिकामा विजय हासिल गरेको थियो। तर, यसपटक माओवादी केन्द्रले त्यहाँका आधा पालिकामा विजय हासिल गरिरहेको छ।

    डा। बाबुराम भट्टराईको गृहनगर पालुङ्टार नगरपालिका र सदरमुकाम रहेको गोर्खा नगरपालिकामा पनि माओवादी केन्द्रका मेयरका उम्मेदवार अग्रस्थानमा छन्। गोर्खामा बढेको माओवादी प्रभावको असर सीमाना छेवैको आबुखैरेनीमा पर्ने नै भयो। यो पनि आबुखैरेनीमा माओवादीको आश्चर्यजनक जीतको कारण हो। माओवादी केन्द्रले दिएको युवा र शिक्षित उम्मेदवारीपनि उसको विजयको अर्को कारण हो।

    ३४ वर्षीय चुमानले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। सानैदेखि माओवादी आन्दोलनमा सक्रिय अध्यक्ष चुमान माओवादी केन्द्रबाट गण्डकी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानका छोरा हुन्।

    माओवादी शान्ति प्रक्रियामा आउँदा उनी माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) को जिल्ला अध्यक्ष थिए। हिमाल शर्मा अखिल (क्रान्तिकारी) को अध्यक्ष रहेका बेला केन्द्रीय सदस्य रहेका उनी एमाओवादी विभाजित भएपछि मोहन बैद्य नेतृत्वको माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिवालय सदस्य बने।

    रामबहादुर थापा (बादल) समूह एमाओवादीमै फर्केपछि उनीपनि बुबा हरिबहादुर चुमानसँगै माओवादी केन्द्रमा फर्के। र, पार्टीको स्थानीय राजनीतिमा सक्रिय रहे। उनी हाल माओवादी केन्द्रको गण्डकी प्रदेश समिति सदस्य छन्। ‘स्थानीय युवाहरु पार्टीमा आवद्ध भएर जसरी जनताको सुझाव संकलन गरे र त्यसलाई निर्वाचनको एजेण्डा बनाए, खासमा मेरो विजयको मुख्य कारण यही हो’ उनले भने, ‘मेरो जीतमा मेरो भन्दा साथीहरुको भूमिका छ।

    म त निमित्त पात्र मात्र हुँ। यो निर्वाचनमा विजय तिनै साथीहरुको भएको छ।’ काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र (बालेन) शाहले आश्चर्यजनक अग्रता हासिल गरेजस्तै आबुखैरेनीमा शुक्रले आश्चर्यजनक रुपमा विजय हासिल गरेपछि स्थानीय युवाहरुले उनलाई सामाजिक सञ्जालमार्फत ‘आबुखैरेनीका बालेन’ भन्दै बधाई दिइरहेका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology