Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना :पूर्वमिस नेपाल माल्भिका सुब्बाले मागिन् माफी

पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना :पूर्वमिस नेपाल माल्भिका सुब्बाले मागिन् माफी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १९:०२:१४ बजे
  • 1.5K
    SHARES
  • पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना :पूर्वमिस नेपाल माल्भिका सुब्बाले मागिन् माफी

    सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफू यौन उत्पीडनमा परेको बताएकी छन्। बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै ती किशोरीले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको बताएका हुन्।

    images

    पीडित युवतीले घटना भएका बेला पूर्वमिस नेपाल माल्भिका सुब्बा कोरियोग्राफर रहेको र आफूले उनलाई घटनाबारे बताएको भनेकी छन्। तर सुब्बाले आफूलाई सहयोग नगरेको यवतीले भिडियोमा भनेकी छन्।

    पीडितले हालै घटनाबारे भिडियो बयान सार्वजनिक गरेपछि पूर्वमिस नेपाल माल्भिका सुब्बाले गल्ती स्वीकार्दै क्षमायाचना गरेकी छन्। सुब्बाले उनलाई म्यासेज गर्दै त्यतिबेला आफू नाबालिग करणी, बालयौन दुव्र्यवहार र सहमतिको सम्बन्धबारेका कानुनबारे पूर्ण जानकार नभएको बताएकी छन्।

    सुब्बाले लेखेकी छन्, ‘म कुनै बहानाबाजी गर्दिनँ। मलाई पूरा विवरण याद छैन। तर, यो सम्झिएकी छु कि तिमीले मलाई कल गरेकी थियौ र दुव्र्यवहार गरिएको विषयमा कुरा गर्न खोजेकी थियौं। तर, ‘बलात्कार’ शब्द नै प्रयोग गरेको याद छैन। म यो पनि सम्झिन्छु कि तिमीलाई मेरो आवश्यकता परेको बेलामा मैले सहयोग गरिनँ।

    यो अक्षम्य छ र मैले तिमीबाट माफीको अपेक्षा गरेको छैन। तर, म तिमीलाई यो थाहा दिन चाहन्छु कि मैले तिम्रो कुरा राम्ररी नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा अत्यन्तै ग्लानी महसुस गरेकी छु। तिमीले मसँग रिसाउने सबै कारणहरु छन र मैले जेजस्तो घृणाहरु पाइरहेकी छु, त्यसको म हकदार छु।’

    माल्भिकाका अनुसार ती युवती अफेयरमा रहेको उनले हल्ला सुनेकी थिइन्। उनले लेखेकी छन्, ‘मैले महसुस गर्नुपथ्र्यो कि जब मैले हल्लाहरु (उनीहरु अफेयरमा छन भन्ने) सुन्न थालेँ, त्यसबेला तिमी केवल १६–१७ वर्षकी थियौं। मैले आयोजकहरुसँग कुरा गर्नुपथ्र्यो र दृढ अडान लिनुपथ्र्यो। तर, मैले त्यसो नगर्ने निर्णय लिएँ।’

    माल्भिकाले त्यसबेला आफ्नो मानसिक स्वास्थ्य राम्रो अवस्थामा नरहेको उल्लेख गरेकी छिन्। यद्यपि यसलाई बहाना नबनाउने उनको भनाइ छ। ‘म आफै डिप्रेसनसँग लडिरहेको थिएँ, त्यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो केसमा संलग्न नहुने निर्णय लिएँ।

    अहिले मैले महसुस गरेको छु कि यदि म संलग्न भएको भए मेरो मानसिक स्वास्थ्यलाई थोरै असर पथ्र्यो होला। तर, उनको लागि ठूलो मद्दत हुन्थ्यो। मैले त्यो समयमा आफूसँग त्यस्तो क्षमता रहेको महसुस गर्न सकिनँ।’ अब आफूले आफैलाई पहिलेको नजरमा हेर्न नसक्ने उनले बताएकी छन्।

    ‘तिम्रो पोष्टहरु हेरेपछि सबै कुराका लागि म जिम्मेवार छु भन्ने महसुस भएको छ र मैले आफूलाई कहिल्यै माफी दिने छैन’, माल्भिकाले भनेकी छन्। उनले लेखेकी छन्, ‘त्यो प्रतियोगितापछि पीडितले अहिले बताएकोभन्दा फरक कुरा सुनेको थिएँ र त्यसमा विश्वास गरेँ।

    त्यसपछि मैले प्रतियोगिता आयोजकसँग सबै सम्बन्ध तोडेँ।’ ती युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो कथा सुनाएपछि माल्भिका सुब्बाको आलोचना भएको छ।

    प्रहरी भन्छ- उजुरी परे अनुसन्धान हुन्छ

    पीडितले विगतमा आफूले प्रहरीमा जानेबारे आफ्नो केही साथीलाई बताएको भए पनि सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै साथ नदिएकाले नसकेको बताएकी छन् । हाल उनले सामाजिक सञ्जालमा घटनाबारे सार्वजनिक गरेपछि धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

    तर नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसी चाहिं पीडितले प्रहरी कार्यालयमा उजुरी नदिएसम्म अनुसन्धान गर्ने आधार नहुने बताउँछन् ।

    ‘यो घटना हाम्रो नोटिसमा छ, तर सामाजिक सञ्जालभन्दा पनि अड्डा, अदालत वा प्रहरीको दायरामा नआउञ्जेल अनुसन्धानमा जटिलता हुन्छ,’ उनले भने, ‘प्रहरीकहाँ उजुरी आए, त्यसको प्रकृति हेरेर अनुसन्धान हुन्छ ।’

    मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीको भनाइमा जबरजस्ती करणीको मुद्दामा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । ‘तर यो बन्धक बनाएर करणी गरिएको घटना हो, यसमा कहिलेकाहीं प्रहरीले अनुसन्धान गर्दै जाँदा थप प्रमाण भेटिए बीचको बाटो पनि निस्किन सक्छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘यस्तो घटनामा हदम्याद हुनु हुँदैन भनेर विश्वभरि नै बहस भइरहेको विषय हो, यस्तो कुरामा पीडितको बयानलाई नै महत्वपूर्ण मानिनुपर्छ ।’

    यो गम्भीर घटना भएको भन्दै उनले मध्यमार्गी बाटो निकालेर प्रहरीले यसमा अनुसन्धान गर्नुपर्ने बताइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology