काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।
बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् ।
९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् ।
हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।
यहि विषयलाई लिएर प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बालेन साहको चर्चा भएको छ :
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह बालेन ब्राण्ड नै बनेका छन् । गाउँ देखि सहरसम्म मात्रै होईन विदेशसम्म उनको चर्चा र बहस भइरहेको हो ।
यसैबीच, बालेन ब्राण्ड संसदमा पनि छिरेको छ । बालेनले पाएको मतपरिणामले सांसदहरुको सातो नै गएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बालेन साहको चर्चा भएको छ ।
काठमाडौं महानगरको मेयर पदको मतगणनामा शुरुवाती चरणदेखि नै अग्रता कायम गर्दै जिततर्फ लम्किरहेका साहबारे संसदमा चर्चा भएपछि नेताहरुमा बालेन भय बढेको सहजै अनुमान गर्न सकिन्छ ।
स्थानीय निर्वाचन, २०७९ को चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार बालेन्द्र शाहको तरंग संघीय संसदमा समेत पुगेको छ ।
शुक्रबार संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै सांसद तारा कुमारीले राजनीतिक मुद्रासँगै आर्थिक मुद्दामा राजनीतिक पार्टीहरू एक ठाउँमा आउन नसके अरु बालेनहरु पनि जन्मिने उनले बताइन् ।
‘अहिले तपाई नेताहरुलाई खुब पोलेको होला नी । बालेन भन्ने फेरि को आयो ? यस्तै हो भने एउटा बालेन मात्र होइन अरु बालेनहरु पनि आउन सक्छन् ।
आफु मन्त्री, सत्तामा हुँदा चाहिँ केही नगर्ने अनि अरु भएको बेला चाहिँ केकेन गरुला झै गरेर विरोधमा उत्रिने । यसो गर्न छाडौँ, मुलुकको राजनीतिक सुधारसँगै आर्थिक रुपान्तरणका लागि सबै एकैठाउँमा आउँ,’ उनले भनिन् ।
‘अहिले एउटा बालेन साहलाई हेर्न दिक्क लागेको छ, यो कहाँबाट आयो भन्ने भएको होला तर अब कैयन क्षेत्रमा बालेन साहहरु जन्मन सक्छन्,’ उनले भनिन् ।
उनले नेताहरु आफू प्रधानमन्त्री र अर्थमन्त्री हुँदा केही नगर्ने र अरु अर्थमन्त्री हुँदा सधै आलोचना गर्ने खराब आरचण रहेको बताइन् । उनले नेताहरु शुरुमा आफू नै सुध्रनु पर्ने बताइन् ।