Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्थानीय तहको परिणाम पछि ओलीको बोली बन्द

स्थानीय तहको परिणाम पछि ओलीको बोली बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • २१:०७:०८ बजे
  • 1.1K
    SHARES
  • स्थानीय तहको परिणाम पछि ओलीको बोली बन्द

    स्थानीय तहको परिणाम धमाधम आउन थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाधबाहेक सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

    images

    ओलीले गत स्थानीय निर्वाचनअघि २०७९ वैशाख २७ गते मात्र एकैदिन चार वटा सार्वजनिक कार्यक्रममा भाषण गर्न भ्याएका थिए । वैशाख ३० मा मतदान गरेयता ओली चुपचाप छन् । त्यसयता गत आइतबार मात्रै सार्वजनिक कार्यक्रममा देखिए । ओलीले स्थानीय निर्वाचनअघि देशव्यापी अभियान नै सञ्चालन गरेका थिए ।

    निर्वाचनपछि चुपचाप रहेका ओली आइतबार सार्वजनिक कार्यक्रममा देखिए पनि राजनीतिक भाषण गरेनन् । कसैलाई गाली पनि गरेनन् । निर्वाचन कार्यक्रममा भने ओलीले अनेक उखान–टुक्का जोडेर लामो भाषण गर्दै विपक्षी दलका नेताहरूको चर्को आलोचना गर्थे । एमालेको घोषणापत्र, नीति कार्यक्रम सुनाउनभन्दा पनि विपक्षी दलका नेतामाथि जाइलाग्थे ।

    प्रत्येक सभा र कार्यक्रममा गठबन्धनमा सामेल दल खासगरी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलाई अराजनीतिक लाञ्छना लगाउँथे । निर्वाचनपछि सार्वजनिक कार्यक्रममा प्रकट भए पनि उनले निर्वाचनमा हारको कारण र असफलताको समीक्षा गर्नुभन्दा भ्युटावरको बढाइचढाई गर्दै औचित्य पुष्टि गर्न खोजे ।

    आफ्नो सरकारको पालामा बनाएको भ्युटावरलाई फ्रान्सको ‘इफेल टावर’ सँग तुलना गर्न भ्याए । बरु भ्युटावर बनाउने योजना नराखेको भन्दै नेपाली कांग्रेस र अन्य दलको घोषणापत्रको आलोचना गरे । त्यस कार्यक्रमबाहेक ओली करिवकरिव गुप्तबासको अवस्थामा छन् ।

    ओलीले गत वैशाख १८ देखि २७ गतेसम्म करिब ३० वटा कार्यक्रममा भाषण गरेका थिए । ति सबै भाषणमा सूर्यले प्रचण्ड बहुमत ल्याउने र अरु प्रमुख दलको हविगत हुने भविष्यवाणी गरेका थिए । तर, त्यसपछि परिणाम सार्वजनिक भइसक्ने अवस्थामा पनि ओली किन चुपचाप छन् ? आश्चर्य मात्र नभै सबैका लागि रहस्यको विषय बनेको छ । १० दिनको बीचमा जहाँजहाँ केपीले भाषण गरे परिणामा प्रायः सबै स्थानमा एमालेले हार व्यहारेको छ ।

    निर्वाचनको परिणामसँगै एमाले सभामा देखिएको भिड ओलीको कमेडी सुन्न र मनोरञ्जन लिन सीमित भएको चर्चा चलेको छ । हुन पनि यो स्थानीय निर्वाचनले एमालेलाई गम्भीर धक्का लागेको छ ।

    महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि ३० वर्ष एमालेले जित्दै आएको नगरपालिकासमेत अहिले गुमाएको छ । एमालेको गढ मानिने बुटवल उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेयले जित हात पारेका छन् ।

    पाण्डेले एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई साढे ७ हजार मतान्तरले पराजित गरे । यस्तै एमालेले काभ्रेको पनौती नगरपालिकामा पनि हार व्यहोरेको छ । पनौती पनि एमालेको गढ मानिन्छ । पनौतीमा पनि काँग्रेसका उम्मेदवारसँग एमाले पराजित भएको छ । यता अर्को गढ भनिने उपमहानगरपालिका हेटौंडामा पनि एमालेको विजोग भएको छ । हेटौंडामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामा मेयरमा विजयी भइन् ।

    हेटौंडा मात्र होइन मकवानपुर जिल्लाभरी नै एमालेको गढ भत्किएको छ । एमालेले आशा राखेको काठमाडौं महानगरपालिकामा बालेन साह झण्डै दोब्बर मतान्तरका साथ अगाडि छन् । एमाले तेस्रोमा खुम्चिएको छ । एमालेले अर्को आश गरेको पोखरा महानगरमा पनि नेकपा एकीकृत समाजवादीका धनराज आचार्य फराकिलो मतान्तरसहित जित नजिक छन् । यता भरतपुरमा रेनु दाहालसँग एमालेका विजय सुवेदीले हार व्यहोर्नुपरेको छ ।

    यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले जितेका दुई महानगरपालिका काठमाडौं र पोखरा पनि गुमाउनुपरेको छ । विगतमा एमालेको गढ मानिने देशका महत्वपूर्ण नगरपालिकामध्ये दमक, मध्यपुर ठिमी, कीर्तिपुरलगायतमा पनि एमाले नराम्रोसँग हारेको छ । पूर्वमा एमालेको पराजय भनिसाध्य छैन ।

    अघिल्लो निर्वाचनमा ‘क्लिन स्वीप’ गरेको धनकुटामा एमाले हारेन मात्र, एमालेको किल्ला ढलेको छ । यस्ता कति हो कति गढ भएमालेले गुमाएको छ ।

    यसअघि सात वटा उपमहानगर जितेको एमाले यसपटक तीन वटामा खुम्चिएको छ । नगरपालिका र गाउँपालिका पनि २०७४ को तुलनामा झण्डै आधा हारेको छ । यो हारसँगै एमाले अध्यक्ष ओलीको अडम्बर एकसाथ धुलिसात भएको टिप्पणी राजनीतिक वृत्तमा चलेको छ ।

  • सम्बन्धित विषय:

  • # ओलीको बोली बन्द
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology