Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विमानस्थलबाट सुन तस्करीमा फेरि पनि गोरे समूह सक्रिय

विमानस्थलबाट सुन तस्करीमा फेरि पनि गोरे समूह सक्रिय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०७९ मंगलवार • २०:१५:०१ बजे
  • 694
    SHARES
  • विमानस्थलबाट सुन तस्करीमा फेरि पनि गोरे समूह सक्रिय

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुरानै समूहले संगठित रुपमा सुन तस्करी गर्दे आएको निष्कर्ष विमानस्थल भन्सार कार्यालयले निकालेको छ । गत १५ बैशाखमा दुई किलो तीन सय ३२ ग्राम सुनसहित पक्राउ परेकामाथि अनुसन्धान गर्दा गोरे भनिने चूणामणि उप्रेतीकै समूहको सक्रियता देखिएको हो ।

    images

    गोरेका भाई रमेश उप्रेती हाल गिरोहका नाइके रहेको भन्सार कार्यालयले जनाएको छ । उनी पनि ३८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्याका प्रतिवादी हुन् ।

    अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले रेड नोटिस जारी गरेपछि उनलाई दुबईबाट नेपाल प्रहरीले सो घटनामा पक्राउ गरी ल्याएको थियो । पछिल्लो समय पनि उनले विमानस्थलका कर्मचारीलाई नै प्रयोग गरी तस्करीको कामलाई निरन्तरता दिएको भन्सारको दाबी छ । सो घटनामा पक्राउ परेका पाँच जनाविरुद्ध भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । एक करोड ९७ लाख बिगो कायम गरी भन्सार चोरी पैठारी मुद्दा दायर गरेको हो ।

    फरार रहेका गिरोहका नाइकेविरुद्ध भने संगठित अपराध ऐनअनुसार थप अनुसन्धान गर्न प्रहरीमा पठाइने विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । भन्सारले फरार रहेका उप्रेतीसहित सात जनालाई पनि मुद्दा दायर गर्न रायसहितको प्रतिवेदन दिएकोमा सरकारी वकिल कार्यालयले उनीहरुको हकमा संगठित अपराध ऐनअनुसार थप अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको हो ।

    ‘सो समूहले विगतमा नौ केजी सुन तस्करी गरिएको देखियो,’ जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख गंगा प्रसाद पौडेलले भने,‘घटनाको प्रकृती हेर्दा संगठित अपराध आकर्षित हुने भएकाले त्यहीअनुसार छुट्टै अनुसन्धान गर्न निर्देशन दिएका छौं ।’ कुनै पनि अपराध तीन वा तीन भन्दा धेरै मिलेर योजनाबद्ध रुपमा गरेको अवस्थामा संगठित अपराध ऐन समेत आकर्षित हुन्छ ।

    यस्तो मुद्दामा थप ५० प्रतिशत सजाय हुन्छ भने अनुसन्धान गर्ने निकायले ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछन् । पक्राउ परेका अभियुक्तहरुले विगतमा पनि विमानस्थलका कर्मचारीलाई प्रयोग गरी नौ केजी सुन तस्करी गरेको बयानमा बताएका छन् । त्यसकारण बरामद भएको र विगतमा तस्करी गरेको घटनालाई छुट्टाछुट्टै अनुसन्धान गरी मुद्दा दायर गर्न लागिएको हो ।

    दुबईबाट आएको हिमालय एयरको शौचालयमा रहेको डस्बिनमा लुकाई सो समूहले सफाई कर्मचारीमार्फत सुन विमानस्थलबाट तस्करी गराउँदै आएको थियो । विमानमा सफाईको जिम्मा पाएको सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लिका कर्मचारी प्रयोग गरी यस्तो तस्करी भएको थियो ।

    विमान सफा गरेर निस्कदै गर्दा चेकजाँच गर्ने क्रममा प्रहरीले सुरुमा भिम कुमार माबो, सुमन तामाङलाई पक्राउ गर्दा पर्समा सुन भेटिएको थियो । उनीहरुका सुपरभाइजर ताराकान्त चौधरीलाई पनि मिलेमतोको आशंकामा पक्राउ गरी मुद्दा दायर गरिएको छ । तस्करी सुन लिन विमानस्थल गएका राजेश राई तथा ट्याक्सी चालक हेम बहादुर थापालाई भन्सार कार्यालयले पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ परेका राईले नै आफुले रमेश उप्रेतीकै निर्देशनमा सो काम गरेको बताएका छन् ।

    गिरोहका केही व्यक्तिहरुको पहिचान प्राविधिक अनुसन्धानबाट गरिएको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए । फरार रहेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्रहरीमा पठाइने उनको भनाई छ । फरार रहेका कतिपय व्यक्तिहरु दुबइमा रहेको खुलेको छ । जसमध्ये कतिपय विगतमा पनि सुन तस्करीमा जोडिएका व्यक्तिहरु हुन् ।

    चार वर्षअघि गठन भएको एक समितिले विमानस्थलबाट करिब ३८ सय केजी सुन गोरे समूहले तस्करी गरेको निष्कर्ष निकाली मुद्दा दायर गरेको थियो । तर, तस्करीको सुन बरामद नभएको भन्दै त्यसमा जिल्ला अदालत मोरङले सनम शाक्य हत्यामा संलग्नलाई दोषी ठहर गरी अन्यलाई सफाई दिएको थियो ।

    गोरे भने हाल पनि कारागारमै छन् । जेल बाहिर रहेका उनका सहयोगीहरु भने अझै यही धन्दामा रहेको पाइएको छ । अदालतबाट समेत सफाई पाएपछि उनीहरुको हौसला बढेको छ ।

  • सम्बन्धित विषय:

  • # गोरे समूह सक्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology