Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दार्चुलामा हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

दार्चुलामा हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०७९ शुक्रवार • ०९:४०:३१ बजे
  • 673
    SHARES
  • दार्चुलामा हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

    दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् ।

    images

    महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । मालिकार्जुन –६ का तेजबहादुर चन्दले भन्नुभयो, “बल्ल अहिले आएर पुल निर्माण भयो ।” स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन–६ बाँकु स्थित पुलको शुभारम्भ गर्नुभयो भने व्याँस –६ बडुगाउँस्थित झोलुङ्गे पुलको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गर्नुभएको हो । पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका हुन् ।

    व्याँस –६ का कलावती भट्ट तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताउनुहुन्छ । वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आउनुएका उहाँ बिहीबारदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी देखिनुभयो । उहाँले भन्नुभयो, “कयौँ बर्खा यो महाकाली नदीमा अकालमै ज्यान गुमाउन बाध्य थिए ।

    अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।” व्याँस –६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे । नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ । भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो ।

    अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ । मालिकार्जुन–६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको बताउनुहुन्छ ।

    “अहिले आएर पुल निर्माण पूरा भएर सञ्चालन हुँदा खुसी छौँ । बाकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुङ्गे पुल सञ्चालन भएपछि हामीलाई हिउँद–बर्खामा यात्रा सहज हुनेछ”, उहाँले भन्नुभयो । नागरिकले झोलुङ्गे पुल नहुँदा ट्युबमार्फत यो क्षेत्रमा आवतजावत गर्न बाध्य थिए ।

    दैनिक उपभोग्य सामान त्यहीँ ट्युबको माध्यमबाट वारपार हुन्थ्यो । झोलुङ्गे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको उहाँले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # बन्यो झोलुङ्गे पुल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology