नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुट्यो भने फेरि पनि देश दुर्घटनामा जाने बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेटबारे छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई प्रतिगामी तत्वबाट बचाउनका लागि पनि अहिले गठबन्धन आवश्यक रहेको बताए ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई तिहाइ बुहमतको प्रतिनिधिसभा दुई दुई पटक भंग गरेको स्मरण गर्दै भने, ‘अहिले पनि देश प्रतिगामी तत्वहरुको खतरामा छ ।
त्यसैले यो गठबन्धन टुट्यो भने फेरि पनि देश दुर्घटनामा जान्छ, जानेछ । त्यसैले देशलाई दुर्घटनाबाट बचाउनका लागि भएपनि अहिलेको गठबन्धन कायम राख्न जरुरी छ ।’
अध्यक्ष प्रचण्डले ओलीले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको पनि बताए । उनले भने, ‘ओलीले दुईटै राप्रपासँग गठबन्धन गरेकै हो । आखिर गठबन्धनको चाहिँदोरहेछ नि ।’
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेशप्रति प्रचण्डको आपत्ति
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशप्रति आपति जनाएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथि छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले दुई अब खर्च भइसकेको भन्दै एयरपोर्ट निर्माणमा रोक लगाउने सर्वोच्चको तर्कबारे समेत प्रश्न उठाए ।
अध्यक्ष प्रचण्डले भने, ‘सर्वोच्चले त्यहाँ पर्यावरणको विषय उठाएको छ । तर, त्यो क्षेत्रमा जंगल छैन । मैले पनि निरीक्षण गरेको छु ।’ उनले यदि पर्यावरणकै खतरा छ भने त्यससम्बन्धी विज्ञ राखेर अध्ययन गर्नसमेत उनले सुझाव दिए ।
गएको बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिएको थियो । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको छ ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चारकिल्ला, गरेका सबै निर्णयहरु खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पनि परमादेश जारी गरेको छ ।