नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा पठाउने निर्णय भएको छ ।
विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले उक्त रिक्त पदमा वामदेव गौतमलाई पठाउने निर्णय गरेको हो । लामो समयदेखि उपाध्यक्ष गौतमले राष्ट्रिय सभामा आफुलाई लानु पर्ने माग राख्दै आउनु भएको थियो ।
गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिनेछ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पेश भएको छ ।
उक्त प्रतिवेदन अनुसार सरकार र पार्टीलाई अगाडि बढाउन कार्ययोजना बनाएर अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले बैठकमा पेश गर्ने जिम्मेवारी दिइएको छ ।
यसका साथै बैठकले मुलुकका विभिन्न ठाउँमा गएको बाढी–पहिरोबाट प्रभावितहरुको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकार र पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएको पनि बताइएको छ ।