Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीमा सडक निर्माण लक्ष्य अघिनै सकियो

म्याग्दीमा सडक निर्माण लक्ष्य अघिनै सकियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७९ बिहिवार • १०:०८:०० बजे
  • 838
    SHARES
  • म्याग्दीमा सडक निर्माण लक्ष्य अघिनै सकियो

    ढिलासुस्तीका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एउटा सडक निर्माण भने लक्ष्यअघिनै सकिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजीकरण र समन्वय हुने हो भने ढिलासुस्ती हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ ।

    images

    बेनी नगरपालिका–९ काउलेगौडा क्षेत्रमा सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सञ्चालन भएको योजना सम्झौता भन्दा दुई महिनाअघिनै सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।

    “गत मङ्सिरमा ठेक्का सम्झौता भएको योजनाको काम २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो”, उनले भने, “निर्माण व्यवसायीले २०७८ चैतमै काम सकेर हस्तान्तरण गर्नुभयो ।” रु दुई करोड ३० लाख विनियोजन गरिएको सो सडक निर्माण गर्न पर्वतको बुद्ध निर्माण सेवाले २०७८ मङ्सिर २६ गते रु एक करोड ४३ लाख ५९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    बेनी नगरपालिकाका सवइञ्जिनियर चन्द्रबहादुर थापाले पाँच मिटर चौडाइका दरले ५५० मिटर ढलान, ६७० घनमिटर ग्याविन जाली र ६६० घनमिटर स्टोन मेसिनरी पर्खाल निर्माण गरिएको जानकारी दिए । काउलेगौडा क्षेत्रमा १६० मिटर पक्की नाली निर्माणका साथै माटो कटिङ र फिलिङ गरिएको छ ।

    काउलेगौडाका विदुर विक सडक स्तरोन्नतिपछि सवारीसाधन सञ्चालन, आवतजावतमा सहजता र जोखिम घटेको बताउछन् । निर्माण कम्पनीका सञ्चालक सागर श्रेष्ठले पर्याप्त निर्माण सामग्री जुटाएर मजदुर र उपकरण परिचालन गरी लक्ष्यअघिनै सम्झौताअनुसारको काम सकेको बताए ।

    साँघुरो, कच्ची, नाली नभएको र ग्रेड तथा घुम्ती नमिलेको सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्षदेखि क्रमागत योजना सुरु गरेको थियो । गत वर्ष दुई किलोमिटर क्षेत्रमा एक हजार ५५९ घनमिटर ग्याविन पर्खाल, ९६१ मिटर पक्की पर्खाल, पाँच स्थानमा क्रस ड्रेन, ३०४ मिटर सडक ढलान र २६१ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology