Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झरी पर्न थालेपछि किसान खुसी

झरी पर्न थालेपछि किसान खुसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७९ सोमवार • १०:१३:१० बजे
  • 922
    SHARES
  • झरी पर्न थालेपछि किसान खुसी

    कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि परेको पानीले रामफलसहित धान रोप्न नपाएका अरु किसान खुसी पनि भएका छन् । उनीहरू खेतमा व्यस्त हुन थालेका छन् ।

    images

    खडेरीले आत्तिएका किसान पानी पर्न थालेँगै रोपाइँमा व्यस्त हुन थालेका छन् । ‘पानी नआउँदा धानको बीउ जोगाउनै मुस्किल भएको थियो । चर्को गर्मीका कारण बोरिङको पानीले सिँचाइमा कुनै राहत भइरहेको थिएन,’ उनले भने, ‘अब खेती लगाउन सकिन्छ कि भन्ने आशा जागेको छ ।’

    टीकापुरका दिनेश विश्वकर्मा पानी पर्न थालेसँगै रोपाईंमा व्यस्त छन् । ‘सबै ठाउँमा सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सबैको कामसँगै सुरु भएकाले काम गर्ने मजदुर भने पाउन निकै कठिन भएको छ,’ उनले भने । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाउँदा गत वर्ष धान रोपाइँको समयभन्दा अगाडि नै कैलालीमा रोपाइँ सुरु भएका थिए ।

    असार १५ सम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । यस वर्ष भने किसान पानीको पर्खाइमा बस्नुपरेको विकाले बताए । ‘अहिलेको वर्षा किसानका लागि अमृत बनेको छ । कम्तीमा जमिन भिजेपछि बोरिङको पानीले भए पनि रोपाइँ गर्ने वातावरण बनेको छ,’ उनले भने ।

    वर्षा नहुँदा बीउ बचाउनसमेत किसानलाई निकै समस्या भएको थियो । केही किसानले बोरिङको पानीले रोपाइँ गरे पनि रोपेको धान सिँचाइ नपाउँदा सुकेर जाने अवस्थामा पुगेको किसान अमर कठरिया बताउँछन् । उनले बोरिङमार्फत २ बिगाहामा धान रोपाइँ गरेका थिए ।

    पर्याप्त सिँचाइ हुन नसक्दा रोपेको धान सुक्ने अवस्थामा पुगेको बताउँदै कठरियाले थोरै भए पनि वर्षा हुन थालेपछि राहत पुगेको बताए । सरकारले रासायनिक मलको व्यवस्था गर्ला भन्ने आशामा पनि कतिपय किसानको धान रोपाइँमा ढिलाइ भएको छ ।

    मल नभएर उत्पादन नहुने भएपछि रासायनिक मलको पर्खाइमा बसेका किसानलाई मनसुनले पनि पछाडि पारेको किसान महेश चौधरीले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology