Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अहिलेकै स्थितिमा चुनाव भयो भने एमालेका १० भाइमध्ये अधिकांशले टिकट नपाउने

अहिलेकै स्थितिमा चुनाव भयो भने एमालेका १० भाइमध्ये अधिकांशले टिकट नपाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७९ मंगलवार • १०:००:०८ बजे
  • 2.0K
    SHARES
  • अहिलेकै स्थितिमा चुनाव भयो भने  एमालेका १० भाइमध्ये अधिकांशले टिकट नपाउने

    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एकीकृत समाजवादी पार्टीले भावी रणनीति तय गर्न केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न गरेको छ । केन्द्रीय परिषदको बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । आजसम्म चल्ने केन्द्रीय परिषद बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    images

    उक्त प्रतिवेदनमाथि ११ वटा समूहमा छलफल चलाइएको छ । सात प्रदेशका सात समूह, मोर्चा जनसंगठन र विभाग, उपत्यका सम्पर्क, विदेश सम्पर्क र प्रवास सम्पर्क, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्चको समूह बनाइएको छ । छलफलको निष्कर्ष आजको बैठकमा समूहका नेताहरूले राख्ने छन् । अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा भएकाले आगामी निर्वाचनमा पनि पाँचदलीय गठबन्धन गरेरै जाने कुरा बताएका छन् ।

    अध्यक्ष नेपालले प्रतिवेदनमा ‘नेपालको कम्युनिष्ट आन्दोलनभित्र समाजवाद विरोधी दक्षिणपन्थी चिन्तन र व्यवहार तथा चरम व्यक्तिवादी प्रवृत्ति प्रकट भएको छ । हामी त्यस्तो गलत चिन्तन र प्रवृत्तिका विरुद्ध विद्रोह गरेर जन्मिएको पार्टी हौँ । अब हाम्रो नेतृत्वमा कम्युनिष्ट पार्टी अगाडि बढ्छ’ भनेका छन् । अध्यक्ष नेपालको प्रतिवेदनमा स्पष्टसँग भनिएको छ– ‘मुुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित छ ।

    एउटा व्यक्तिवादी अहङ्कार, स्वेच्छाचारी, निरङ्कुश, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धार । अघिल्लो प्रवृत्तिको मूलबाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् ।’

    अध्यक्ष नेपालले भनेका छन्– ‘वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भए तापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा आपसमा सहमत भएर गठबन्धनमा रही सहकार्य गरिरहेका छन् ।’ प्रतिवेदनमा भनिएको छ, ‘आगामी निर्वाचनलाई ध्यानमा राखेर यस गठबन्धन र सहकार्यलाई कम्तीमा पनि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ ।’ संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने एकीकृत समाजवादीको मान्यता रहेको छ । यसैबीच, आगामी निर्वाचनमा वाम गठबन्धनको छलफल पनि व्यापक बनेको छ ।

    समाजवादीका सम्मानित नेता झलनाथ खनालले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै शर्तसहित वाम गठबन्धनलाई जोड दिएका छन् । खनालले भने, ‘सिंगो एमालेभित्र ओलीगुट मात्र प्रतिगामी हुन्, अरु क्रान्तिकारी छन् । क्रान्तिकारीसँग मिलेर जानु समयको माग हो ।’ मंसिरमा हुने निर्वाचनपूर्व नै वाम गठबन्धन र पार्टी एकतामध्ये कुनै कुरा भएन भने संघ र प्रदेशको निर्वाचनको नतिजामा एमाले ठूलो क्षति व्यहोर्नुपर्ने अनौपचारिक निष्कर्षमा पुगेको छ । यो कुरा स्थानीय तह निर्वाचनको परिणामले देखाएको छ ।

    वाम गठबन्धन गरेर जाँदा केपी शर्मा ओलीको भूमिका कस्तो हुन्छ भन्ने प्रमुख हो । ओली भित्रभित्र वाम गठबन्धन गर्न चाहने, आफू तलमाथि हुने गरी गठबन्धन नचाहने भएपछि एमालेभित्र तनावयुक्त वातावरण छ । एमालेका एकथरि नेता एकीकृत समाजवादीसँग र अर्काथरि नेता माओवादी केन्द्रसँग एकता वा सहकार्यमध्ये जुन कुरा सजिलो हुन्छ, त्यसमा जान भनेर संवाद चलाइरहेका छन् । संवादको क्रममा सबैसँग भएका कुराकानीको सार एउटै छ– ओलीले विगतमा गरेको गल्तीको आत्मस्वीकार, आत्मालोचना गर्नुपर्ने । तर, ओली यसका निम्ति अहिलेसम्म तयार छैनन् । बरु, उनले केही दिनअघि ‘एउटा निर्वाचन हार्न तयार हुनुपर्ने’ अभिव्यक्ति दिएका छन् ।

    यस्तो कुरा आएपछि अब एमालेको चुनावी जहाज डुब्ने भयो भनेर नेताहरू आ–आफ्नो ‘बन्दोबस्ती’मा लाग्न थालेको एमाले सूत्रले दृष्टिलाई जानकारी दिएको छ । सो सूत्रका अनुसार ओलीले आफ्नो गल्ती आफैँले स्वीकार्ने टाढाको कुरा भयो, ‘संसद विघटन गलत थियो’ पनि भन्न नपाइने गरी एमालेभित्र अनुशासनको डण्डा चलाइँदैछ । जबकी, विभिन्न वामपन्थी नेतासँग कुराकानी गर्न गएका नेताहरुले एउटै निश्कर्ष बोकेर फर्किएका छन् ।

    त्यो हो, ओलीको आत्मालोचना । तर, ओली आत्मालोचना गर्न तयार छैनन् । उनी अझै संसद विघटन ठीक हो भन्दै छन् । एमालेभित्र पछिल्ला दिनमा विकसित घटनाक्रमअनुसार, नेताहरूमा विभिन्न खाले प्रवृत्ति पाइएको छ । शंकर पोखरेल, प्रदीप ज्ञवालीहरू ‘जसो–जसो ओली, उसो–उसो स्वाहा’ हुन तयार छन् । त्यो कुरा बुझेर ईश्वर पोखरेल चूपचाप छन् । विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङहरू सर्वनाशलाई रोक्नका लागि अन्तिमसम्म पनि एकता वा सहकार्यमध्ये एउटा बाटोमा जानैपर्ने भनिरहेका छन् । ओलीको नियत प्रष्ट भएपछि घनश्याम भुसालहरूको समूह अहिले माओवादीसँग संसदमा छ ।

    पहिल्यैदेखि ओलीपक्षीय भनेर देखिएका नेताहरू आगामी चुनावमा टिकट पाउने कुरामा विश्वस्त छन् । तर, विशेषतः माधवकुमार नेपाललाई अन्तिममा साथ छोड्ने १० भाइहरू राजनीतिक जीवनरक्षाको चरणमा पुगेका छन् । योगेश भट्टराईहरू ओलीलाई खुशी पार्न नेपाललाई सन्यास लिनु भनेर सामाजिक सञ्जालमा हप्काउन थालेका छन् । किनभने, ओलीलाई खुशी पारेर चुनावको टिकट पाउनुबाहेक उनीसँग अर्को बाटो छैन ।

    योगेश भट्टराईको जस्तो चाकडी गर्न नसक्नेहरूले फरक–फरक संवाद शुरु गरेका छन् । त्यसमध्ये अहिले घनश्याम भुसाल माओवादी नेता वर्षमान पुनसँग बाक्लो संवादमा छन् । सुरेन्द्र पाण्डेसहितका केही नेता भने एकीकृत समाजवादीका विभिन्न नेतासँग नजिकिएर अगाडि बढ्न चाहिरहेका छन् । अहिलेकै स्थितिमा चुनाव भयो भने १० भाइमध्ये अधिकांशले टिकट नपाउने, टिकट पाए पनि ओलीले हराइदिने कुरा बुझेका छन् ।

    त्यसमध्ये घनश्याम भुसालले आफ्नो समूहलाई कतै माओवादीको सहयोगमा, कतै समाजवादीको सहयोगमा जिताउने गरी भूमिका खेलिरहेका छन् । उनले वर्षमान पुनसँग गरेको कुराकानीको रिपोर्टिङ खुमलटारमा भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई माओवादी केन्द्रमा प्रवेश गर्ने सन्देश दिएका छन् । तर, भुसाल तयार छैनन् । खुमलटार सूत्रका अनुसार वर्षमान पुनसँगको कुराकानीमा व्यक्त गरेअनुसार, माधव नेपालतिर जाँदा हिजोको कुरा सम्झिएर कार्यकर्ता तहबाटै असहयोग हुने डर भुसालमा छ ।

    ‘उता नपाउने भएपछि यता आयो’ भनेर समाजवादीहरूले हेला गर्छन् भन्ने पिर भुसालमा छ । त्यसैले न माओवादी, न समाजवादी, कतै नलाग्ने कुरा उनले भनेका छन् । तर, वामपन्थीबीच चुनावी मोर्चा गर्ने हो भने ओली र उनीनिकटस्थ बाहेकका अरु नेतालाई त्यसमा उभ्याउन सकिने अडानमा भुसाल छन् । माओवादी पक्षले पार्टी प्रवेश नगरे पनि आफ्नो चुनाव चिह्नमा चुनावमा भाग लिनुपर्ने बताउँदा त्यसमा पनि भुसालहरूले मानेका छैनन् । उनीहरूले स्वतन्त्र उम्मेदवारका रुपमा अलग्गै चिह्नमा तालमेल गर्ने प्रस्ताव राखेका छन् ।

    विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङहरू पनि माओवादीसँग अनौपचारिक संवादमा छन् । उनीहरूले सबै ठाउँमा नभए पनि केही निश्चित निर्वाचन क्षेत्रका लागि तालमेल गर्नुपर्ने भन्ने गरेका छन् । ओलीले गरेको अनुमानअनुसार असार महिनाभरमा एकीकृत समाजवादी र जसपाभित्र असन्तुष्ट हुनेहरू एमालेमा फर्किन्छन् । यदि, पुग्दो सांसद संख्या पुर्याउन सकियो भने, मधेसी दलसँग अविश्वासको प्रस्तावबाट देउवा सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने षडयन्त्र गरिरहेका छन् ।

    त्यसो भएन भने ती पार्टीभित्रको विग्रहमा खेलेर केही न केही फाइदा लिन सकिन्छ भन्ने ओलीको अनुमान छ । एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीका पक्षमा हस्ताक्षर गर्ने १० जनाको पत्र सार्वजनिक भएपछि एमालेभित्र एक किसिमको दीपावली नै मनाइयो । तर, त्यो खुशी दुई दिन पनि टिकेन । हस्ताक्षर गर्नेमध्ये ६ जनाले भोलिपल्टै फिर्ता लिए । बाँकी चारजना पनि मन्त्रीबाट फिर्ता भइसकेका छन् ।

    नयाँ पार्टी भएका कारण गठन भएको पाँच वर्षसम्म समाजवादी कानुनतः विभाजित हुन सक्दैन । त्यसैले समाजवादीभित्र हुने झगडाले एमालेलाई तत्काल फाइदा पुर्याउँदैन । जतिसुकै असन्तुष्ट भए पनि समाजवादीका नेता–कार्यकर्ताले एमालेमा एक्लाएक्लै फर्किंदा कुन हविगत व्यहोर्नुपर्छ भन्ने कुरा १० भाइ र उनीहरू पक्षका देशभरका कार्यकर्तामाथि गरिएको व्यवहारबाटै बुझिसकेका छन् ।

    देउवा सरकारबाट एकीकृत समाजवादीका पुराना मन्त्री फेरिने र नयाँ मन्त्री आउने कुराले पनि एमालेभित्र निराशा छाएको छ । अघिल्ला मन्त्रीमध्ये प्रेम आले र रामकुमारी झाँक्री एमालेप्रति उदार भएर काम गर्दै थिए । किसान श्रेष्ठको निर्वाचन क्षेत्र तनहुँमा एकीकृत समाजवादी कमजोर भएका कारण उनले जिल्लाको हकमा पनि एमालेसँग मिलेर काम गरेका थिए । तर, नयाँ आएका मन्त्रीमध्ये एमालेले चलाउन सक्ने कोही पनि छैनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology