नेकपा माओवादी केन्द्रका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जसपा नेता डा बाबुराम भट्टराई माओवादी फर्किनुको विकल्प नरहेको बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले माओवादी छोडेर बाबुराम बाहिर जाँदा कुनै भलो नभएको टिप्पणी गरे । ‘बाबुरामजी माओवादी फर्किनुको विकल्प देख्दिन ।
उहाँ माओवादीको सिनियर नेतामध्येमा एक हुनुहुन्थ्यो । जनयुद्ध जनआन्दोलनमा माओवादीले उठाएको एजेण्डाहरु प्रत्यक्ष सहभागी भएको हुनाले यो भन्दा बाहिर गएर राम्रो गर्छु भन्दा फलिफाप भएको देखिएन’ पौडेलले भने, ‘व्यक्तिगत रुपमा बाबुरामजी यो आन्दोलनलाई नै अगाडि बढाउने लाग्नुभयो भने इतिहासको पनि मूल्यांकन हुन्छ ।
उहाँले उठाएका एजेण्डाहरु पुष्टि गराएर अगाडि बढाउन सजिलो हुन्छ । कार्यकर्ता र जनता खुसी हुन्छन् ।’ माओवादी आन्दोलनमै पुन: जोडिएर आउन पौडेलले सार्वजनिक रुपमा आह्वान गरे ।
समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएपनि म"र्त रुप लिई नसकेको पौडेलले बताए । ‘कतिपयलाई माओवादीले उठाएको एजेण्डा मन परेका छन् ।
पार्टी मन परेको छैन । कता कता माओवादी भन्नेबित्तिकै नाक खुम्च्याउँछन्,’ पौडेलले भने, ‘यस्तो अवस्थामा समाजवादी केन्द्र बनाएर माओवादीसहित सबै कम्युनिस्टहरूलाई जोडेर एक ठाउँमा ल्याउन सकिन्छ कि भन्ने छ ।
यद्यपि समाजवादी केन्द्र बनाउने विषयले मूर्त रुप लिइ सकेको छैन ।’