नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा पार्टी संगठन कमजोर भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले जनयुद्धदेखि जनआन्दोलन र सरकारमा हुँदा काठमाडौं उपत्यकाबासीका लागि राम्रो काम गरेपनि संगठन बन्न नसकेमा नेताहरुसँग सुझाव मागेको एक नेताले जानकारी दिए ।
‘काठमाडौं उपत्यकामा पार्टी बनाउन नयाँ ढंगले संगठन संरचना बनाउनुपर्छ । अहिले सम्पर्क समिति र विशेष समिति बनाएका छौँ त्यसलाई मिलाएर नयाँ ढंगले संरचना खडा गर्न पो हो कि भन्ने मेरो प्रस्ताव छ’ प्रचण्डले भने, ‘अब सिनियर नेताको नेतृत्व जरुरी छ । त्यसमा र स्थानीयलाई पनि मिलाउनुपर्छ ।
उपत्यका र ठूलो सहरको हकमा पनि नयाँ संरचनामा जान आवश्यक छ । यसमा कमरेडहरूको सुझाव आए थप सहज हुन्छ।’ स्थानीय तह चुनावमा गठबन्धन भएपनि उपत्यकाका काठमाडौ, ललितपुर भक्तपुरमा कमजोर नतिजा आएपछि प्रचण्डले पार्टी संगठनका विषयमा चिन्ता व्यक्त गरेका हुन् ।
उपत्यकाका सबै पालिकामा माओवादी प्रमुखमा पराजित भएको थियो । ललितपुर र भक्तपुरका केही पालिकामा भने उपप्रमुख जितेको छ ।