नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनलगायतका विषयमा छलफल भएको थियो ।
अध्यक्षद्वयसँग परामर्श गरेर महासचिव विष्णु पौडेलले पार्टीको साउन १३ मा स्थगित गरिएको बैठक भदौ २६ बोलाएका छन् । उनका अनुसार त्यसअघि अध्यक्षद्वयबीच र सचिवालय बैठकसमेत बस्नेछ । विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।
ओली-प्रचण्डबीचको भेटवार्तामा कार्यदलले दिएको सुझावका आधारमा मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल भएको छ । फेरि एक पटक छलफल गरेर सचिवालय बैठक बोलाउने तयारी अध्यक्षद्वयको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वय र महासचिवबीचको छलफलको सहमति अनुसार बैठक बोलाइएको जानकारी दिएका छन् ।
स्थायी कमिटी बैठकको मुख्य एजेण्डा कार्यदलको सुझावका आधारमा अध्यक्षद्वयले तयार पारेको प्रस्ताव र त्यसको कार्यान्वयन मुख्य हुनेछ । यसअघिका नियमित एजेण्डामा पनि स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेका थिए । तर, पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीइतर समूहका २९ जना सहभागी बैठक सञ्चालन गरेका थिए ।
विवाद उत्ष्कर्षमा पुगेपछि साउन ३० गते अध्यक्षद्वयले महासचिव पौडेल नेतृत्वमा कार्यदल गठन गरेका थिए । विवाद समाधानका लागि सुझाव दिनेगरी गठन गरिएको कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनउपर १८ गतेको सचिवालय बैठकमा छलफल भएको छ ।
सचिवालय बैठकले अध्यक्षद्वयलाई प्रतिवेदनका आधारमा सहमतिको ठोस खाकासहित सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी दिएको थियो । त्यसै अनुसार छलफल अगाडि बढेको छ ।