Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नेछु : नवनिर्वाचित उपसभामुख भुसाल

आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नेछु : नवनिर्वाचित उपसभामुख भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • ०९:३४:४८ बजे
  • 481
    SHARES
  • आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नेछु : नवनिर्वाचित उपसभामुख भुसाल

    नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी हुन् ।

    images

    उनले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने उल्लेख गरिन् । उनले राष्ट्रिय राजनीतिको विविध आयामहरुलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भुमिका खेल्ने बताइन् । उनले भनिन्, ‘संवैधानिक पद भएको हुनाले निश्चय नै पहिलो काम अहिलेको सदनले जुन किसिमले उपसभामुखमा निर्वाचित गरायो । त्यसप्रति म आभार व्यक्त पनि गर्न चाहन्छु ।

    मलाई लाग्छ, निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरु थपिएको छ । दायित्वहरु थपिएको छ ।’ उनले फेरि भनिन्, ‘संविधानको कार्यान्वयनको लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरुलाई व्यवस्थापन गर्नको लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउनको लागि, मुलुकको आर्थिक समृद्धिको लागि । र मलाई के लाग्छ भने सदनमा एउटा तटस्थताको भुमिकालाई निर्वाह गर्नको लागि जुन जिम्मेवारी थपिएको छ । त्यसलाई इमान्दारीपूर्वक निर्वाह गर्नेछु भन्नेकुरामा म दृढ छु ।’

    उपसभामुख भुसालले संवैधानिक परिषद्मा समन्वयकारी भूमिका खेल्ने बताइन् । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढंगले काम गर्ने उनको भनाइ छ । उनले भनिन्, ‘संविधानले संवैधानिक परिषद्लाई एउटा प्रमुख अंगको रुपमा मान्यता दिएको छ ।

    संविधानको जुन स्प्रिट हो, जुन भावना हो, संवैधानिक परिषद्ले जुन काम, कर्तव्यहरु निर्वाह गर्नुपर्छ, त्यो अनुसार संवैधानिक परिषद्मा सबैको उपस्थिति पनि छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैको उपस्थिति पनि रहेको छ ।’ उनले फेरि भनिन्, ‘त्यो उपस्थितिको माग बमोजिम नै उपसभामुखलाई संवैधानिक परिषद्को एउटा सदस्यको रुपमा राखिएको छ । जुन अपेक्षा संविधानले संवैधानिक परिषद्सँग गरेको छ ।

    त्यसमा आफ्नो भूमिका निर्वाह गर्नका लागि मैले इमान्दारीपूर्वक नै प्रभावकारी ढंगबाटै समन्वयकारी भूमिकाको रुपमा मैले आफ्नो भूमिका निर्वाह गर्नेछु ।’ उनले आफू सम्वद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरु स्थगित गरेको पनि बताइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology