Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चरम आभावकै बीच १८ करोडको रासायनिक मल बिक्री

चरम आभावकै बीच १८ करोडको रासायनिक मल बिक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७९ बुधवार • १०:१७:०९ बजे
  • 823
    SHARES
  • चरम आभावकै बीच १८ करोडको रासायनिक मल बिक्री

    चरम आभावकै बीच सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ३१ लाख ९० हजार मूल्य बराबरको रासायनिक मलखाद्य बिक्री गरेको छ ।

    images

    यस आर्थिक वर्षमा १० करोड ५१ लाख तीन हजार १९४ को डिएपी सात करोड ८० लाख ८६ हजार ८६० को युरिया गरी १८ करोड ३१ लाख ९० हजार ५४ मूल्य बराबरको रासायनिक मलखाद्य बिक्री गरेको सो कार्यालयले जनाएको छ ।

    आव २०७८÷७९ मा छ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मलको वार्षिक लक्ष्य रहेकामा चार हजार ९५४ मेट्रिक टन युरिया र दुई हजार ३५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिए ।

    जसमध्ये सो आवमा युरिया चार हजार ९५४ मेट्रिक टन र डिएपी दुई हजार ३४८ मेट्रिक टन मल बिक्री भएको प्रमुख पौडेलले बताए। यसअघि गत आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले १९ करोड ६५ लाख ६३ हजार ३१४ मूल्य बराबरको रासायनिक मल बिक्री गरेको थियो ।

    अघिल्लो वर्षको भन्दा आव २०७८/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको जनाएको छ । यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ । प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल चाहिएकामा हाल मौज्दात एक बोरा पनि युरिया मल छैन भने त्यति नै मात्रामा डिएपी मल चाहिएकामा छ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक मलका लागि आउने किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताए ।

    कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आए लगत्तैबाट कोटा निर्धारण गरी स्थानीय तहहरूमा रहेको सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने जनाएको छ । बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख पौडलको कथन छ ।

    सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्टट्रेडिङले गाउँ–गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्रीवितरण गर्दै आएको छ । धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलले बताए ।

    डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक–पटक पत्राचार गरे पनि बर्सेनि आपूर्ति घट्दै गएकाले समस्यामा परेको प्रमुख पौडेलको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताए ।

    मागअनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसानहरू मलका लागि डिलर चहार्ने गरे पनि सहजरूपमा मल पाउने अवस्था नरहेको उनको भनाइ छ । कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठले बताए ।

    यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहजरूपमा मलखाद्य उपलब्ध नहुँदा किसान मारमा परेको प्रमुख महासेठको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology