नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव र बाबुराम भट्टराई समेटेर ‘नेकपा समाजवादी केन्द्र’ बनाउने प्रयास भइरहेको बताएका छन् ।
जनकपुरधाममा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी केन्द्र बनाउँदा त्यसमा समेटिन उपेन्द्र यादवलाई अप्ठेरो नहुने बताए ।
अध्यक्ष प्रचण्डले चुनावी मोर्चा हुँदै समाजवादी केन्द्र निर्माण र पार्टी एकतासम्म लक्षित रहेको बताए । अधयक्ष प्रचण्डले भने, ‘उपेन्द्र र बाबुरामको पार्टी विभाजन निश्चित भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भइरहेको छ ।’
समाजवादी केन्द्र निर्माणबारे बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, वामदेव गौतमसँग कुरा भइरहेको उनको भनाइ छ ।
उनीहरु गठबन्धनबाट बाहिर जान नहुने बताउँदै उनले भने, ‘गठबन्धनभित्र रहेका सबै वाम दलहरुसँग र वामदेवजीसँग राम्रो समझदारी बनाउनुपर्छ । र, चुनावी खालको मोर्चा पनि हुनसक्छ ।’
पार्टी एकताका लागि केही दिनमै निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
बामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छ- प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।
सर्लाहीको एक कार्यक्रमलाई सम्वोधन गर्न हिडेका प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरुसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बताएका हुन्।
‘‘पाँच दलीय गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै नेताहरुसँग कुराकानी भइरहेको छ, त्यसमा माधवजी, उपेन्द्रजी, बाबुरामजी हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी पनि मिसिनुभएको छ, गठबन्धन भित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनिरहेको छ, प्रचण्डले भने, ‘ सकियो भने चुनावका लागि विशेष मोर्चा निमार्ण पनि हुन सक्छ, भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समितिको नामवाट मोर्चाबन्दी पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं।’
गठबन्धन भित्र र बाहिरका बामपन्थी दलहरु बिचमा छलफल चलिरहे पनि अहिले नै निष्कर्षमा नपुगेको प्रचण्डको भनाइ छ।