नेकपाको दोस्रो दिनको स्थायी समिति बैठकमा भारतसँगको सीमा सिल गर्नुपर्ने आवाज उठेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा भारतले निरन्तर सीमा मिचेको भन्दै नेताहरुले भारतसँगकाे सीमानालाई सिल गर्नुपर्ने आवाज उठाएका हुन्। दुई स्थायी समिति सदस्यले सो प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए।
‘केही साथीले भारतसँगकाे सीमा सिल गर्नुपर्ने प्रस्ताव गर्नुभयो भारतले पटक–पटक सीमा मिच्ने क्रम जारी राखेपछि सिल नै गरे समस्या बल्झिदैन भन्ने उहाँहरुकाे धारणा थियो।
बैठकमा अर्का नेताले नेपालको चीनसँगको सिमाना कहिलेदेखि सगरमाथा भएको हो भनेर प्रश्न उठाएका थिए। हिमाल पहिले हाम्रो भन्थ्यौँ, त्यसैगरी पढेका हौं तर कहिलेदेखि हाम्रो सीमाना भयो?’ ‘चीन–नेपालको सीमाना कसको पालामा हिमाल भएको हो?’ उनको प्रश्न सुन्नेपछि सबै सदस्यहरु केही बेर मौन बसेकाे उनले जानकारी दिए। बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्दा पार्टी बैठक किन नराखेको भन्दै केही नेताहरुले नेतृत्वलाई जिज्ञासा राखेका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शुक्रबारको बैठकमा १८ जना नेताहरुले आफ्ना धारणा राखेका थिए।