नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विं.सं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको बताएका छन्।
बिहीबार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्याउनु बेठीक हुने उनले बताए।
अध्यक्ष ओलीले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्याएर गल्ती गर्ने छुट अब नभएको बताए। तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे।
अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको बताए।