कथा
तिमीलाई माया गर्दा, भएछ भुल कस्तो
भाछु आज डालिबाट झरेको फुल जस्तो !!
फेसबुकमा एक टुक्का लेखेर सुत्ने प्रयास गरे । जिन्दगीमा जती उमेरको संख्याहरु थपिएपनी मन त उस्तै हुदो रहेछ अझ भनौ मन जस्तो जिबन नहुदोरहेछ । थाहा छैन सबै भएर पनि किन किन के नभए जस्तो हुन्छ यो मनलाई । कहिलेकाही पुरना यादहरुले बेस्सरी चिमोटिदिदो रहेछ ।
खै किन हो आज पनि मन कालिगण्डकी जस्तै अबिरल बगिरहेछ तिनै पुराना बिस बर्षे अतितहरुको भेल बोकेर ।
निदाउन कोशीस त गरेकै हो नि आँखामा निद नभएपछी शरीरलाई जती ओछ्यानमा पल्टाएपनी कहाँ हुदोरहेछ । सोचमग्न मन लाई फेरी फेसबुकमै दौडाउन पुग्छु । अघिको स्टाटसमा धेरै लाईकहरु थुप्रिने क्रम रहेछ । आँखाहरुमा सबिताका तस्बिरहरु घुम्न थाले सायद चाहेर पनी बिर्सन सकेको छैन म ।
सबिता र म एउटै साले (जन्म साल), एउटै गाउ, एउटै धाराको पानी खाएर हुर्कियौ । त्यती बेलाको समाज छोरा र छोरी बिचको भेदभाबी समाज । म स्कुल पढ्न जान थालेको २ बर्षपछी मात्रै उनिले स्कुल टेकेकी थीइन नत्र त किताब बोकेर हामी कलेज सम्मै संगै हुन्थ्यौ कि त ? हामी सानै देखी जङल जाने घास दाउरा गर्ने गर्थ्यौ । छोराहरुको भन्दा छोरीहरुको भागमा स्वाभाबिकैले घरको काम बढी पर्ने गर्थ्यो । काम धन्दा भ्याएर पनि सबिताले पढाईमा आफुलाई अब्बलै साबित गरेकी थीईन । म ८ मा पढ्दथे क्लासको सेकेन्ड ब्वाए उनी ६ मा पढदथीन क्लासकी फर्स्ट गर्ल ।
त्यतिबेला हाम्रो स्कुलमा अतिरिक्त कृयाक्लापहरु हुन्थे, सरहरुले सदन बाँडेर समुहहरु बनाइदिन्थे । नामहरु हिमालहरुका नामबाट राखिएका थिए जस्तो सगरमाथा अन्नपूर्ण धौलागिरी माच्चापुर्छे । म धौलागिरी सदनको क्यापटेन थिए र उनीपनी मेरै सदनमा परेकी थीईन त्यसैले स्कुलमा बाहेक पनि हामी फुर्सद हुँदा पनि सदनकै बारेमा कुरा गर्दथ्यौ । हाम्रो गाउ देखी तल अन्तरेभिर भन्ने सामुदायिक बन थियो जहाँ हामी घास दाउरा गर्ने, गाई गोरु चराउन जान्थ्यौ । शनिबार सधैं जस्तो हामी गाउका साथीभाइहरु मिलेर त्यही अन्तरेभिरमै गाई गोरु लिएर जान्थ्यौ । एकदिन साथीहरुले ठट्टा ठट्टैमा सबिता र तिम्रो जोडी मिल्छ है भनेर हामीलाई जिस्काइदिए । उनका र मेरा आँखा जुधे उनी लाजले राती भईन मेरो मनमा पनि काउकुती त लाग्यो । सँच्चिकै पहिलोपल्ट म उनको बारेमा सोच्न पुगे । राम्री नै थीईन सुसिल स्वभाब थियो मिठो बोली थियो खै किन हो त्यो दिनदेखी मेरो मनमा तरङहरु पैदा हुन थाले अझ भनौ मैले उनिलाई मन पराउन थाले । उनिले के सोचेकि थीईन खै तर म एकदिन उनिलाई मनको कुरा भन्ने सोचिरहेको थिए ।
समय आफ्नै रफ्तारमा थियो हामी आफ्नै दिनचार्यमा । मनको कुरा सबितालाई भन्नै सकेको थिएन मैले तर कल्पिरहेको थिए उनी सँगै जिउने एउटा मिठो जिन्दगी । एक दिन सबिता केही सिक्ने भन्दै किताब बोकेर मेरो घर आईन । म बार्तालीमा बसेर पढिरहेकै थिए । गणितका केही हिसाब हरु सिक्न आएकी रहिछिन । मेरी आमाले हामी दुई लाई चिया दिदै सबितालाई त बुहारी बनाउने हो मैले भनिदिनु भयो उनी भुतुक्कै भईन । मैले नै हो त्यस दिन देखी उनिलाई सपनाकी राजाकुमारी बनाएको । स्कुलको पढाई सकेर बिहे गरेको सम्म सोचेर बस्ने गर्दथे म । हाम्रा घरहरु नजिकै थिए उनिलाई एक दिन नदेख्दा पनि मन भुभुतिन्थ्यो सायद यही होला माया ।
एकदिन कन्थाराजथानको चौपारी मा बसेर गफ गर्न थाल्यौ हामी । मेरी आमाकी बुहारी बन्ने हो त भित्रै देखी साहस बटुलेर भनिदिए । एकछिन चुप बसिन उनी हाम्रा आँखामा अनौठा भाकाहरु दौडिरहेका थिए । मैले के भन्छु र लजाउदै सबिताले जबाफ दीईन । त्यो नै पहिलो स्विकार थियो मेरो मायाको । हामी अगाढी बढ्यौ अझ भनौ हामी दुईको प्रेमको रेखाको बिन्दु कोरियो त्यो दिन । गाउलेहरुले संका गर्छन् कुरा काट्छन भनेर हामी भेट्ने भन्दा पनि पत्रहरु लेख्थ्यौ । पत्रहरुमा मनका कुरा लेख्न कम्ता मिठो लाग्दैनथ्यो मलाई । हाम्रा पत्रहरु बिना हुलाकी सम्प्रेषण हुन्थे, लुकाएर स्कुल जादा किताबको बिचमा राखिदिन्थ्यौ अनी फुर्सद मिलाएर एकान्तमा पढ्ने गर्दथ्यौ । हामी भित्र भित्रै गुडिरहेका थियौ मायाको सागरमा । हावाका झोकाहरु संगै बहिरहेका थियौ आफ्नै संसारमा ।
मान्छेको जिबनमा सधैं एकैनास हुँदैन रहेछ । हुने हार दैब नटार ! अचानक हाम्रो गाउमा एउटा दु:खद खबर आयो । सबिताका बाबा भारततिर काम गर्दा दुर्घटनामा परी ज्यान गुमाउनु भएछ । उनी मुर्छा परेर रोइरहेकी थीईन । मलाई पनि अती नै पिडा भएको थियो त्यो पल । मैले निकै सम्झाउथे उनिलाई । आखिर सत्य त्यही हो पिडाहरु भुलेर जिबन जिउनु को अर्को बिकल्प कहाँ छ र मान्छेहरु सँग । उनी पनि आफुलाई सम्हालेर जिबन बढाउदै थिईन अझ भनौ हाम्रो माया झन झन झ्याङिगै थियो ।
मैले त अब पढ्न छोड्दिन्छु होला । सबिताले एक दिन निन्याउरो मुख लाएर भनिन । किन के भयो नपढेर त कहाँ हुन्छ र मैले सम्झाए । आमाले पढाउन सक्नुहुन्न रे तिमीलाई थाहै छ हाम्रो स्थिती सायद अब मैले मेरी आमालाई सघाउनु पर्छ । घर धन्दा गरेर मात्रै सघाइन्छर लाटी पढेर पछी जागिर खाएर आमा लाई सघाउने भाईलाई पढाउने होला नि मैले उनको मनोबल बढाउने कोशीस गर्छु । आखिर सबिताले पढाई छोडि दिईन ।
मेरो पनि एसएलसी नजिकिएको ले आफुलाई पढाई मै बढी केन्द्रित गरे । हाम्रो माया यसरी नै अगाढी बढीरहेको थियो जसरी गाउ देखी तलको ठुलो खोला दिनहु बगिरहन्थ्यो । उनी गाउमै काम गर्ने आमालाई सघाउनेमा ब्यस्त थिईन भने म उनकै माया लाई मुटुभरी संगालेर जिन्दगीमा केही गर्ने अभिलाषा का साथ अध्ययनलाई नै जारी राखे । एसएलसी सके पछी उच्च अध्ययनको लागि म काठमान्डौ जाने भए । त्यो दिन सबिता धेरै रोएकी थिन म सँग, हुनसक्छ म बिना त्यो गाउमा एक्लो महसुस गरेकी होलिन । मलाई पनि उनी संग छुट्टीदा गार्हो नभएको कहाँ हो र तर हरेक रात पछी सुनौलो बिहानी हुने हुँदा हाम्रो जिन्दगीमा पनि सुनौला किरण हरु झुल्किने छन भन्ने आशा राख्दै पाइला बढाएको थिए गन्तब्य तिर ।
शहरको भिडभाडमा जिबनको संघर्षसंगै ब्यस्त भए पनि सबिताको माया मेरो मुटुको प्रत्यक धड्कनमा धड्किरहन्थ्यो । फुर्सद हुँदा डायरिमा उनिलाई सम्झेर कबिताहरु लेख्थे । त्यो बेला मा फोन थिएन मोबाइल थिएन फेसबुक थिएन थियो त मात्र एक अर्काको विश्वाश । मैले चिट्ठी पठाउथे उनिले पनि जवाफ फर्काउथिन । एक अर्काका चिठ्ठी पढेर नै साथमा भएको महसुस गर्दै दिनहरु बितिरहेका थिए । पढाइ सँगै खर्चको जोहो गर्न मैले सानो तिनो जागिर गर्न थाले । गाउ बाट सबिताको चिठ्ठी पनि आएन धेरै भयो, मन बेचैन हुन्थ्यो । म नयाँ ठाउमा डेरा सरेको थिए नयाँ ठेगाना राखेर पत्र पठाएँ तर जबाफ आएन । कयौ पल्ट पुरानो डेरा भएको घरमा गएर चिठ्ठी आयो कि भनेर सोध्द्दथे तर अह थिएन । मन पागल हुन्थ्यो उडेर गाउ पुगौ जस्तो हुन्थ्यो तर पढाई अनी जागिर छोड्न पनि सकेको थिएन ।
अब त गाउ गएर सबिता लाई बिहे गरी यतै ल्याउछु मनमनै सोचिरहन्थे । यो दसैंमा बिदा पाउने भए मैले, खुशीले मन फुरुङ्ग भयो । तीन बर्षा बितिसकेको थियो गाउ नगएको । कती कुराको परिवर्तन भएको होला है ! मेरी सबिता कस्ती भएकी होलीन कल्पिरहन्थे म । केही सामन हरु किनेर झोला तयार गरे सबितालाई पनि मन पर्ने एकजोर कुर्था सलवार किने ।
दु:ख पिडा बिर्सदै
बिरानो शरहबाट म आए
मायालुलाई भेट्ने रहर बोकी
आफ्नै गाउ फर्की आए …………………. !!
घरपुग्दाको दिन कती खुशी भएको थिए म । भोली पल्ट बिहानै उठेर सबिताको घर तिर गए । काकी एक्लै हुनुहुन्थ्यो तर सबितालाई देखिन । सायद काम तिर गएकी होलिन भन्ने सोचे । मनमा धर्य थिएन अनी काकी लाई सबिता खोई भनेर सोधे । लौ बाबु लाई थाहा छैन सबिताको त बिहे भयो नि ५ महिना जती भयो । दसैंमा आउछे रे भेट हुन्छ । म अचानक छाँगाबाट खसे जस्तै भए । म बसेको जमिन भास्सिए जस्तो लाग्यो । मैले सुनेको कुरा झुट्टा भैदिए हुन्थ्यो जस्तो लाग्यो । समय अचम्मको छ , हिडिरहेको गोरेटाहरु कहाँ गएर टुङिन्छन थाहै नहुनी । देखेका सपनाहरु कती बेला उजाड भएर बिलिन हुन्छन पत्याउनै नसकिने । उफ ! विश्वाशै नलाग्ने हाम्रो माया यसरी एकदिन कथा बन्ने छ भनेर ।
मनलाई सम्हाल्नु जस्तो पिडा अरु नहुदोरहेछ । घरमा आएर कोठामा बसी बेस्सरी रोए । आँसुहरु बगाएर मनका पिडा पखाल्ने कठिन प्रयास गरे । अल्बम निकालेर तस्बिररु हेरे निस्ठुरी मुस्कुराइरहेकी थिईन । मेरो जिन्दगी लाई उनिले जिस्काएको जस्तो अनुभुती भयो । बाकस खोलेर चिठ्ठीहरु पढे । मनको बह बढेर आयो । तल निरन्तर बगिरहेको ठुलो खोला उसै गरी अबिरल बगिरहेको थियो तर जिन्दगीको मझेरीमा म एक्लो थिए । सबिताले छोडेको एक्लो ! सत्य यही थियो उनी बेग्लै भएकी थिईन अझ भनौ अरु कसैकि भएकी थीइन । दशैमा सबिता माइत आएकी थिईन भेट भयो हाम्रो । उनी म सँग आँखा जुधाउन सकिनन तर उनको अनुहारमा पस्चातापको रेखाहरु कोरिएको प्रस्ट देखे । सन्चो बिसन्चो को दोहोरो सम्बाद बाहेक खासै कुरा हुन सकेन । मलाई लाग्यो उनी धेरै नै परिवर्तन भएकी रहेछिन सायद उनको र मेरो सम्बन्धमा सिमारेखाहरु कोरिएकोले पनि होला । टिकाको भोलिपल्ट उनिले मलाई उनको माइती घर बोलाइन । म जादा एक्लै थीइन उनी ।
अब बोल्नु पर्ने भन्नुपर्ने के बाँकी छ र सबिता मैले उनी लाई सोधे ।
उनले मलाई हेरिन मैले उनिलाई । उनको आँखामा आसुहरु छचल्किरहेका थिए।म तपाईको नजरमा धोकेबाज भए तर समयले मलाई यसरी धोका देला भनेर सोचेकि थिएन । एक्कासी घरमा बिहेको कुरो चल्यो, मामाहरु ले जोड गर्नुभयो मैले तपाइको नाम सम्मा मुखबाट निकाल्न सकिन । एक मन त मरौ कि भन्ने पनि सोचेको थिए तर धोकेबाज भए पनि तपाई सँग एक दिन भेट होला भनेर सोचे । मामाहरु, काकाहरु र आमाको इज्जतको लागि मेरो मायाको हत्या भयो । गल्ती मेरै थियो तपाईलाई थाहा दिन पनि सकिन भागेर जाउ भने पनि कहाँ जाउ । तपाईको यादमा रोएर बाँचेकि छु म थाहा छैन मेरो जिबनको यात्रा कसरी कहाँ पुग्ने छ तर तपाईले मलाई माफ गरिदिनुहुनेछ छौ भन्ने ठुलो अपेक्षा गरेर बसेकी छु ।
उनी रोएको देखेर मैले पनि रोक्न सकिन । आंसुहरु बगाएरै किन नहोस सत्यता स्विकार गर्नु बाहेक मेरो अगाडि बाँकी केही थिएन । उनिलाई बैबाहिक जिबनको कामना गरेर बिदा भए । लाग्थ्यो मेरो जिबनको एउटा अध्याय त्यही सकिएको थियो । मेरो जिबनको बत्ती निभाईएको थियो । छुट्टीने मन त कहाँ थियो र सायद हाम्रो भाग्यमा त्यही नै लेखेको थियो । दशै मानेर म फर्किए कर्मथलो तिर । चाहेर पनि भुल्न सकेको थिएन सबितालाई । बेला बेला मा उनको यादले तड्पिन्थे दुखी हुन्थे तर सत्य त्यही थियो उनी मेरी हुन सकिनन म उनको । केही थान उनका चिठ्ठीहरु र केही तस्बिरहरु बाँकी थिए तिनिहरु लाई पनि जलाएर म आफ्नो गन्तब्यमा हिंड्न सुरु गरे । आखिर जिउनु त छ जिन्दगी जसरी पनि ।
म जागिर र आफ्नो पढाईमा मन भुलाउदै लैजान थाले । देशमा जनयुद्द चर्किरहेको थियो सरकारी जागिर खाने लोक सेवा आयोग पनि बन्द नै थियो । घरका समस्याहरु बढीरहेका थिए, बाबाको जेठो छोरो पारिवारिक जिम्मेवारि थियो मेरो काँधमा त्यसैले केही कमाउने सपनाहरु झोलामा बोकेर खाडी मुलुक दुबई छिरे । सात समुन्द्र पारीको यो बिरानो मुलुकमा घर परिवारको याद आउथ्यो, छुटेको मायाको याद आउथ्यो धेरै कुराको याद आउथ्यो तर बाध्यतालाई आत्मसाथ गर्दै जिन्दगीलाई कर्मथलोमा अभ्यस्त बनाउदै गए ।
शरीरमा बगेका पसिनाहरु पुछे जस्तै नसकिदोरहेछ पुछन अतितलाई । भन्न् त भनिन्छ भाग्यमा लेखेको मात्रै पाईन्छ तर फेरी मान्छे हरु देखेको तिरै लाग्ने गर्छन । देखेका र लेखेका चिजहरुमा तारतम्य नमिलेर होला सायद मन हरु दुख्छन । प्रेमी हरु बीछोडिन्छन । बिरुवा रोपिन्छ ठुलो हुन्छ हाँगा पलाउछन । फुल फुल्छन झर्छन , पातहरु पलाउछन झर्छन यस्तै सास्वत सत्य बिच मान्छेको जिबनमा पनि रित पूर्वक जिबनयापनमा धेरै परिवर्तन हुँदै जान्छ । भनिन्छ नि समयले दिएको घाऊ समयले नै निको बनाउदछ, मेरो जिबनमा पनि अनेकै रेखाहरु मेटिने र कोरिने हुँदै गयो । हिजो एक्लो थिए आज मसँग पूर्ण परिवार थियो र आफ्नै खुशीहरु बटुल्दै थिए । आसै आस र भोलिको मिठो कल्पनामा खाडीमा पुरै २ दशक बिताइसकेछु मैले ।
एकदिन मेरो फेसबुकमा सबिता को साथी बन्ने अनुरोध आयो ।
म झस्किए , सम्झिए बिगतका केही पलहरु । झट्ट स्विकार गर्न सकिन । उनको प्रोफाइलमा गएर तस्बिर हरु नियाल्न थाले । तस्बिरहरु बाट थाहा भयो कि उनी पनि खाडीमै काम गर्दी रहिछिन । आ जे सुकै होस खाटा बसेको घाऊ फेरी किन उप्काउनु यस्तै सोचेर मैले उनको साथी बन्ने अनुरोध लाई स्विकार गरेन । एकदुइ दिन यत्तिकै बिते, सबिता किन बिदेस पुगिछिन भनेर सोचिरहन्थे । उनले म्यासेज गरिछिन एकफेरी कुरा गर्न चाहन्छु पिलिज साथी बनिदिनुहोस म अभागीनीको । म्यासेज पढेर अली अली रिस पनि उठ्यो तर ठिकै छ नि के रहेछ त कुरो भनेर फेसबुकमा साथी बनाए ।
जिन्दगी फुलैको फुलको थुंगो हुँदैन
फक्रिने र ओईलाउने टुंगो हुँदैन
रोक्दा रोक्दै आँशुहरु कता पोखिन्छ
हिड्दा हिड्दै जिन्दगानी कतै ठोकिन्छ ....... !!
गीतहरु वास्तवमा भोगेर लेखिएका हुन्छन क्यारे । मान्छे ले आफुलाई खोज्दै जादा आफै संग पनि हराउन पुग्दो रहेछ ।
काम बाट फर्केर बेलुका फेस बुक हेर्दै थिए सबिताले म्यासेज गरिन ।
सञ्चै हुनुहुन्छ होला नि है ?उनिले सोधिन
सञ्चै नै भएर होला सायद तिमी सँग कुरा गरिरहेको छु मैले जबाफ दिए ।
के गर्ने मलाई त पाप लाग्यो तपाईंको मायाको उनी बहकिन सुरु गरिन
पुरानो कुरा तिर नजाउ बरु भन के छ तिम्रो खबर किन बिदेस आयौ अनी तिम्रा बुढा के गर्दैछन बच्चाबच्ची कती छन एकै पटक धेरै प्रश्न तेर्साइदिए मैले ।
खै कहाँ बाट सुरु गरौ मेरो कथा कसरी भनौ तपाईंलाई । मलाई बिहे गरेको १० दिनपछी नै मेरो श्रीमान कतार उडेका थिए । गएको २/३ महिनामा एउटा पत्र आएको थियो आफ्नो ख्याल गर्नु भनेर । त्यसपछी कुनै खबर थिएन म सँग सायद परिवारसंग हुन्थ्यो होला । मैले चिट्ठीमा गर्भवती भएको उमंगका खबर लेख्दै छिटो आउने अनुरोध गरेकी थिए तर जवाफ आएन न त उनी नै आए । छोरी जन्मिए पछी म माइतमा बस्न आएकी थिए केही महिना त्यसै बेला थाहा भयो कि उस्ले त अर्कै केटी ल्याएर काठमान्डौमा बस्छ रे । आखिर मेरो भाग्यको खोट त होला दु:ख माथि दु:ख थपिदै गए । किन हो किन त्यो घर मलाई जेल जस्तो लाग्दथ्यो जस्को लागि माइतिको आँगन पोलेर गएकी थिए उसैको त हुन सकिन भने त्यो घरमा बसेर मैले कस्लाई प्रतिक्षा गर्नु । म माइतीमा आमा संगै बस्न थाले ।
सबिताले आफ्नो काहानी सुनाउदै थिईन म गम्भिर भएर सुन्दै थिए । आखिर मनले माया गरेको मान्छेको पिडा सुन्दा दु:ख लाग्दोरहेछ ।
एकातिर छोरी ठुलि हुँदै थिई । एकदिन सबै आफन्तको कुरा मानेर मैले श्रीमान संग पारापाचुके गरे । तपाईं लाई थाहै छ माइतमा नि हाम्रो आर्थिक राम्रो थिएन । भाई ले बिहे गरेपछी छुट्टीएर बस्न थालेको थियो । बुढी आमालाई रोगले सताउदै थियो भने छोरीका आवश्यकता बढ्दै थिए त्यसैले मैले बिदेश जाने सोच बनाए र काठमान्डौ आए अनी एउटा एजेन्सी मार्फत म कुवेत आए । यहाँ आएपछी का पिडा त झन शब्दमा लेखी साध्य छैन । दुखी लाई जहाँ गएपनी दुखै पर्ने रहेछ । आफ्नो घर र आफ्ना मान्छे हरु त आफ्ना भएनन भने यो बिरानो मुलुकमा को आफ्नो हुन्थ्यो र ? घरेलु काम गर्ने म भने जस्तो काम र व्यबहार नहुँदा धेरै घरहरु छोड्दै हिंडे आज न भिषा छ न पैसा । थाहा छैन घर जान पाउछु पाउदिन तर छोरीलाई जसरी पनि पढाउन पाए मैले जस्तो दु:ख भोग्न पर्ने थिएन कि । आज धेरै बर्षपछी तपाईंलाई मेरा जिन्दगीका पिडाहरु सुनाउन पाउदा मन हल्का भएको महसुस गरेकी छु झर्को नमानिदिनुहोला है ! सबिताले रुदै रुदै बताएकि थीइन मलाई जिन्दगीका उनका कथा - ब्यथाहरु ।
जिन्दगीमा मान्छे कहाँ बाट कहाँ पुग्छ समयले भाग्यले वा यात्रा ले । आफुले सोचे जस्तो हुने भए किन रुन्थे मनहरु किन हुन्थे घाऊहरु ? नियतिले ठगेर सबितालाई कुवेत सम्म पुराएको थियो । सायद त्यो बेलामा हाम्रो गाउमा फोन भएको भए वा अहिले जस्तो सामाजिक सन्जाल भईदिएको भए सबिता र मेरो प्रेम यात्राले अर्कै मोड लिन सक्थ्यो कि ? अझ भनौ बिधाताले हाम्रो भाग्यमा दुई थोपा मसिले एउटै लेखिदिएको भए आज सायद म उनको र उनी मेरी भएर जिन्दगी जिउने थियौ कि ? मनले यस्तै यस्तै सोच्दै निदाएछु त्यसदिन ।
म आफ्नै जिन्दगीको कनिकुथीमै थिए जती सक्दो म सबिता सँग कुरा गर्न चाहदैनथे । कहिले काही सामान्य हाइ हेलो मै सिमित हुन्थ्यो । म चाहन्न्थे कि बिगतका घाऊहरु फेरी बल्झियोस । लामै समय भएको थियो उनी अनलाइन तिर पनि देखिन छाडेको । मैले खासै वास्ता गरिन पनि । एक दिन अनलाइन समाचार हेर्दै थिए कुवेतमा नेपाली चेलीको सडक दुर्घटनामा मृत्यु भन्ने देखे । ति मृत्यु हुने चेली अरु कोही नभएर सबिता नै रहेछिन म अवाक भए । कहाँ छ र जिबनको भरोसा यहाँ, छोरी लाई पढाएर ठुलो मान्छे बनाउने सबिताका सपनाहरु पनि अधुरै रहे । अनेकौ पिडाहरु सहेरै एउटा जिन्दगी अस्तायो परदेशको माटोमा I मन मनै उनिलाई श्रदान्जली दिन बाहेक म बबुरो के नै पो गर्न सक्थे र ।
कहिले काही किन यती धेरै उदास उदास लाग्छ आफ्नै जिन्दगी । हजारौको भिडमा पनि किन एक्लो लाग्छ जिन्दगी । सबै भएर पनि केही नभएको जस्तो, हावामा उडिरहेको सिमलको भुँवा जस्तो किन लाग्छ जिन्दगी । यदी घडीका सुईहरु घुमाएर समयलाई पछाडि लैजान सक्ने भए जिन्दगीलाई म त्यही लैजान्थे जहाँ म र सबिता भाँडाकुटी खेल्ने गर्दथ्यौ । अन्तरेभिरको जंगलमा घाँस काट्दै एक अर्काको डोकामा माया भर्दथ्यौ ।
तर चाहेको हुने भए, रातमा देखेका सपना बिहानीको मिरमिरेमा नटुट्ने भए, फुल फुले पछी कहिल्यै नझर्ने भए म पनि गाउमुनी सधैं छङ्छङ् गर्दै बगिरहने ढोडेनी खोला जस्तै बगरिरहन्थे निरन्तर सबिताको नाम सुस्साउदै अनी गुन्गुनाउथे एउटा गीत
तिमी हुन्छ मात्रै भन म यो दुनियाँ छोडेर आउछु
माया गर्छु मात्रै भन सारा बन्धन तोडेर आउछु..
समाप्त
प्रदिप सुबेदी
ज्यामारुककोट म्याग्दी
हाल दुबई युएई