भाद्र २३, २०७७ मंगलवार
•
२०:५६:४४ बजे
भिडले धकेलेको चेतना ,
हल्लाले दबाईएको प्रश्न हुँ म !
दलालहरुको सजिलो निशाना ,
लुटतन्त्रको मीठो खजाना हुँ म !
श्रीलंकाबाट मेटिएको तामिल ,
म्यान्मारबाट लखेटिएको रोहिंग्या हुँ म !
पाकिस्तानमा रेटिएको बंगाली ,
नानचिंगमा सेरिएको चिनियाँ हुँ म !
पाकिस्तानमा सताईएको हिन्दु ,
हिन्दुस्तानमा दबाईएको मुस्लिम हुँ म !
बेलायतबाट लुटिएको भारतिय ,
अकबरबाट भुटिएको राजस्थानी हुँ म !
जंगलबाट धपाईएको आदिवासी ,
वेदबाट बहिस्कृत जाती हुँ म !!
पार्टिबाट तिरस्कृत कार्यकर्ता ,
सरकारबाट बहिस्कृत जनता हुँ म !
चिनद्वारा कुल्चिएको तिब्बती ,
बलत्कारिद्वारा मिल्किएको चेली हुँ म !
अमेरिकी बमबाट ध्वस्त इराकी ,अफगानी, भियतनामी र जापानी हुँ म !
असमको बंगाली र कस्मिरको पंण्डित हुँ म !
दुनियाँ भरका अन्याय, अत्याचार र दमनको शिकारी हुँ म !
क्रान्तिकारी, बिद्रोही, अभियन्ता र योद्धा हुँ म !
मनभरी मातृभुमी ,छाती भरी चन्द्र सुर्य बोक्ने नेपाली हुँ म !!
नेपाली हुँ म !!
राम चन्द्र तिम्सिना
(आवाज)