प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण भएको छ । सोमबार गरिएको परीक्षणमा राई र उनी श्रीमती शोभा पाठकमा समेत संक्रमण पुष्टि भएको हो ।
राई परिवारका सदस्य, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत १६ जनाको पीसीआर गरिएको थियो । मुख्यमन्त्री राईका राजनीतिक सल्लाहकार जीवन राई पनि संक्रमित भएका छन् ।
तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । कोभिड संक्रमणका मुख्यमन्त्रीसँगको भेटघाटलगायत सबै कार्यक्रम स्थगित गरिएको प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए ।