नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन्।
पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित अध्यक्ष प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए।

प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आइतबार प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने छन्। भने सोही दिन नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। .
जापानमा रहँदा जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि प्रचण्डको भेटवार्ताको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
प्रचण्ड २५ साउनमा स्वदेश फर्किनेछन् । जापान भ्रमणका क्रममा प्रचण्डले पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन् ।