Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७९ आइतवार • १७:५६:१६ बजे
  • 946
    SHARES
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    मंसिर ४ को प्रतिनिधिसभा चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्छन् भन्ने जति ढुक्कका साथ भन्न सकिन्छ, उनको चुनाव क्षेत्रबारे भने त्यति नै संशय छ । खुला राजनीतिमा आएपछि प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् ।

    images

    २०६४ को संविधानसभा चुनावमा रोल्पा-२ र काठमाडौं-१० दुबै क्षेत्रबाट चुनाव जितेका उनी दोस्रो संविधानसभा–२०७० मा रोल्पा गएनन् । काठमाडौं १० मा पराजित भएका उनी सिराहा ५ मा निर्वाचित भएर सांसद बने । २०७४ मा भने एमालेसँग वाम गठबन्धन गरेका प्रचण्ड चितवन ३ बाट निर्वाचित भए । तर पछिल्लो ५ वर्षमा प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जति बजेट खन्याएका छन्, त्यहाँको राजनीति पनि त्यति नै गिजोलेका छन् । स्थानीय चुनाव–२०७४ मा नेपाली कांग्रेससँग तालमेल गरेर छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाएका प्रचण्ड प्रतिनिधिसभा चुनाव २०७४ मा एमालेसँग तालमेल गर्न पुगे । यो पटक स्थानीय चुनावमा फेरि कांग्रेस र माओवादी एक ठाउँमा आयो ।

    अहिले प्रचण्ड कांग्रेससँगै गठबन्धन गरेर प्रतिनिधिसभा चुनाव लड्ने पक्षमा छन् । तर कांग्रेसको भोट पाएर फेरि सांसद निर्वाचित हुन प्रचण्डलाई सहज नभएको माओवादी नेताहरु नै स्वीकार गर्छन् । माओवादी बलियो मानिएको बर्दिया, प्रचण्डको पुर्ख्यौली थलो कास्कीलाई प्रचण्डको सम्भावित निर्वाचन क्षेत्र समेत मान्ने गरिएको छ । तर गोरखाका नेताहरुले भने प्रचण्डले क्षेत्र नम्बर १ बाट चुनाव लड्न औपचारिक रुपमै प्रस्ताव गरेका छन् ।

    गण्डकी गाउँपालिकाको अध्यक्ष दीपक तिमल्सिनाले ५ साउनमा प्रचण्डलाई भेटेर गोरखा १ बाट उम्मेदवारी दिन प्रस्ताव गरेका हुन् । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि अधिकारीलाई लिएर खुमलटार पुगेका तिमल्सिना भन्छन्, ‘मैले अनुरोध गरेको हुँ । उहाँ आउँदा जिल्लामा विकासको आधार बन्छ ।’ माओवादी नेता समेत रहेका तिमल्सिनाले भने, ‘देशको मध्यभाग, हिजो जनयुद्धमा त्याग गरेको क्षेत्र पनि हो ।

    यस पटक स्थानीय तह निर्वाचनमा पहिचान राख्न पनि सफल भएको हो ।’ ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये ९ वटाको नेतृत्व माओवादीले जितेको थियो । माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराईको घर गोरखाको क्षेत्र नम्बर २ मा पर्छ । उनी २०७४ सालमा गोरखा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए । माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठको घर पनि गोरखा क्षेत्र नम्बर २ मा नै पर्छ ।

    गोरखा क्षेत्र नम्बर १ बाट २०५६ सालसम्म नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले निर्वाचित हुँदै आएका थिए । २०६४ सालमा माओवादी केन्द्रकी पार्वती थापा र २०७० मा डा. बाबुराम भट्टराई निर्वाचित भए । नयाँ संविधान बनेपछि गोरखामा जम्मा २ वटा क्षेत्र बन्यो र २०७४ को चुनावमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए । हाल सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका अधिकारी प्रचण्ड आए आफू धेरै खुशी हुने बताउँछन् ।

    ‘मैले जितेकोभन्दा उहाँ आउँदा हजार गुणा खुशी हुन्छु,’ माओवादी पोलिट्व्यूरो सदस्य अधिकारी भन्छन्, ‘उहाँ कहाँबाट उठ्ने भन्ने पार्टीले डिसिजन गर्ने कुरा हो, हामीले गोरखा १ बाट चाहेका हौं । यो हाम्रो निम्ति ठूलो अवसर हुन्छ ।’ गोरखा क्षेत्र नम्बर १ सँग प्रचण्डको भावनात्मक सम्बन्ध रहेको पनि अधिकारीले बताए । प्रचण्डले यो निर्वाचन क्षेत्रमा पर्ने आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा २०३३ सालमा शिक्षकको रुपमा काम गरेका थिए ।

    गोरखा क्षेत्र नम्बर १ मा माओवादीको जनमत राम्रो भएको मानिन्छ । यो क्षेत्रमा पर्ने ७ स्थानीय तहमध्ये ६ वटाको नेतृत्व माओवादी केन्द्रले नेतृत्व जितेको छ ।

    नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले अध्यक्ष प्रचण्ड गोरखा आए जिल्लाको विकास निर्माणमा ठूलो फाइदा हुने बताए । ‘अध्यक्ष आउनुभयो भने हामी सबैको लागि खुशीको कुरा हो’ उनले भने, ‘तर औपचारिक रुपमा केही कुरा भएको छैन ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology