Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीमा पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

म्याग्दीमा पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • ०९:४०:४२ बजे
  • 1.3K
    SHARES
  • म्याग्दीमा पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

    पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन् ।

    images

    जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बाँध र दुई वटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताउनुभयो ।

    “दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ”, उहाँले भन्नुभयो, “पावर हाउस र अन्य अडितको काम भने निरन्तर भइरहेको छ । बाँधतर्फ जाने पहुँचमार्गमा पैदल हिँडेर पनि जान नसकिने पहिरो खसेको छ ।” राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो ।

    तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको २१।३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन् । तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र विस्फोटक पदार्थ ढुवानी हुन नसकेको बताउनुभयो । भएका सामान सकिएपछि भरिया र खच्चरमा बोकाउँदा महँगो पर्न गएको इन्जिनियर तिमिल्सिनाले बताउनुभयो ।

    धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर बालकुमार रोकाले पहिले दैनिक तीन पटक विस्फोटक हुने गरेकोमा बर्खा लागेपछि एक पटक मात्र गर्न सकिएको बताउनुभयो ।

    धौलागिरि र मालिका गाउँपालिकामा अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण थालेको ५३।५० मेगावाट क्षमताको अपर म्याग्दी पहिलो र हाइड्रो इम्पायर प्रालिले धौलागिरि गाउँपालिका–४ मा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनास्थल पनि सडक सम्पर्कविच्छेद भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको १३२ केभी क्षमताको डाडाखेत सवस्टेशन निर्माणस्थल जोड्ने सडक पनि अवरुद्ध भएको छ । निरन्तरको बर्सातका कारण दिनमा मर्मत गरिने सडक रातमा भत्किने गर्छन् । निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्न नसक्दा आयोजनाका निर्माण कम्पनीले मजदुर घटाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology