Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको डाँडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

म्याग्दीको डाँडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • १३:५८:४७ बजे
  • 871
    SHARES
  • म्याग्दीको डाँडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण  सुरु

    जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।

    images

    नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए ।

    “७७ मध्ये २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ,” उनले भने “थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नाप जाँचको काम पनि सुरु भएको छ ।” १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ ।

    रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् । सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धि मान्ने गरिन्छ । डाँडाखेत र राहुघाटमा सवस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख अग्रवालले बताए ।

    उनका अनुसार डाँडा खेतको सवस्टेशन निर्माणस्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ । राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्म्याउने काम भइरहेको छ । सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ ।

    आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सवस्टेशन बनाउन लागिएको हो । डाँडाखेत सवस्टेसनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सवस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए ।

    एशियाली विकास बैंकको ऋणमा प्रशारण लाइन र सवस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुईवटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका छन् ।

    गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण थालेको छ । धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ ।

    धवलागिरि गाउँपालिका–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ ।

    अपर हाइड्रोपावर प्रालि काठमाडौँले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्याउने काम भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology