Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल विद्युत् प्राधिकरण : विद्युत् निर्यात बढ्यो,१६ अर्ब ९ करोड खुद नाफा

नेपाल विद्युत् प्राधिकरण : विद्युत् निर्यात बढ्यो,१६ अर्ब ९ करोड खुद नाफा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • १०:०३:२३ बजे
  • 955
    SHARES
  • नेपाल विद्युत् प्राधिकरण : विद्युत् निर्यात बढ्यो,१६ अर्ब ९ करोड खुद नाफा

    नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ९ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा यो नाफा १६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष प्राधिकरणले ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०७८/७९को अपरिस्कृत वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    images

    योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी गर्न प्राधिकरण सफल भएको छ । दाेस्राेमा नेपाल टेलिकम छ । ‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढेको र निर्यात भएको बिजुलीले पनि थप सघाउ पुगेको प्राधिकरणले जनाएको छ । ‘प्राधिकरणका स्वामित्वका विद्युत् गृहरुबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने ।

    आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुऱ्याएको थियो । तर आर्थिक वर्ष २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

    विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत् बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत् महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ ।

    प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ । विद्युत् प्रणालीमा आर्थिक वर्ष ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आर्थिक वर्ष २०७६/७७मा १५.२५ प्रतिशतमा झारिएकोमा ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

    आर्थिक वर्ष २०७८/७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाई चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौं’, उनले भने ।

    आव २०७८/७९ मा भारतर्फको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा करिब ३६४ देखि ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ ।

    विद्युत् निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत् खपत २१.२८ प्रतिशतले वृद्धि हुँदा समेत प्राधिकरण विद्युत् आयातलाई घटाउन सफल भएको छ ।

    आन्तरिक माग धान्न आव २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ । कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अवस्था अन्त्य भई खुद निर्यात सुरु हुने बताए ।

    आव २०७८/७९मा विद्युत् पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत् प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ ।कान्तिपुर 

  • सम्बन्धित विषय:

  • # १६ अर्ब ९ करोड खुद नाफा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology