Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मिश्रलाई मिलन पाण्डेकाे प्रश्न- ‘के हाम्रो पार्टी राजतन्त्र ब्यूँताउनका लागि थियो ?’

मिश्रलाई मिलन पाण्डेकाे प्रश्न- ‘के हाम्रो पार्टी राजतन्त्र ब्यूँताउनका लागि थियो ?’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७९ आइतवार • १४:४५:०९ बजे
  • 733
    SHARES
  • मिश्रलाई मिलन पाण्डेकाे प्रश्न- ‘के हाम्रो पार्टी राजतन्त्र ब्यूँताउनका लागि थियो ?’

     विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले रवीन्द्र मिश्रको चर्को आलोचना गर्दै गम्भीर प्रश्न अघि सारेका छन् । मिश्रले राजतन्त्रकाे पक्षमा दस्तावेज अघि सारेपछि गम्भीर प्रश्न उब्जाएकाे पाण्डेकाे भनाइ छ । मिश्रले  पार्टी स्थापनाको मर्मविपरीत दस्तावेज ल्याएकाे हुँदा त्यसले वैकल्पिक राजनीतिप्रति देखिएकाे जनताकाे आशा र भराेसामाथि नै  तुसारापात गरेकाे उनले बताएका छन् ।

    images

    एक विज्ञप्ती जारी गर्दै पाण्डेले प्रश्न गरेका छन्- के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्यूँताउनका लागि भएको थियो ?’ उनले पार्टीमा स्थापनाकालदेखि नै एक दशकसम्म  सदस्यहरूले गरेकाे मेहनत राजतन्त्रको पक्षपोषणका नै हाे त भनेर प्रश्न उठाएका छन् ।

    ‘नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन,’ विज्ञप्तीमा भनिएकाे छ ।

    पाण्डेले विवेकशील साझा पार्टी जे प्रयोजन र उद्देश्यका लागि स्थापना भएको हो, त्यसैमा निरन्तर अगाडि बढ्ने र छिट्टै राष्ट्रिय भेला बोलाएर पार्टी पुनर्गठन गर्ने बताएका छन् ।

    हेर्नुस् प्रेस विज्ञप्तिकाे पूर्णपाठ

    विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेला मार्फत पुनर्गठन गर्छौं !

    विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्मविपरित ल्याइएको उक्त दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो। यसको हिसाबकिताब इतिहासले राख्नेछ।

    तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ। के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन।

    मार्ग परिवर्तन: विचार भन्दा माथि देश २०७८ साल साउन ११ गते आउँदा नै हामीले राजतन्त्रको पक्षपोषण गर्नकै लागि थियो भन्ने सञ्चारमाध्यमबाट सबैलाई अवगत गराएकै थियौँ। यही बिचमा जालझेल र किर्ते गरी मार्ग परिवर्तन दस्ताबेजलाई बहुमतका नाममा पारित भयो भनियो। यस विषयमा हामीले सम्मानित सर्वोच्च अदालतमा आफ्नो तथ्यपूर्ण दलिल प्रस्तुत गरेकै छौँ जहाँ अदालतले समयमै न्याय दिने पूर्ण विश्वास छ। उक्त दस्ताबेजको पक्ष बलियो बनाउन अर्को पक्षले मङ्सिर १८ गते ५४ जना राजसंस्थावादी सदस्यहरू ( थोरै केहि बाहेक ) केन्द्रीय समितिमा थपियो। त्यसपछि आफ्नै समूहभित्रको भागबन्डा मिलाउन नसकेपछि आन्तरिक गुटको कलहको कारण रवीन्द्र मिश्रले राजीनामा दिए।

    यही बिचमा हामीले केही कुरा स्पष्ट गर्नुपर्ने भएको छ-

    १. हाल विवेकशील साझा पार्टीमा गणतन्त्रवादी ( मूलबाटो पक्षधर ) र राजसंस्थावादी ( विचारभन्दा माथि देश पक्षधर ) गरी दुई विचार समूह अस्तित्वमा छन्। हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्म अनुसार अघि बढिरहेका छौँ। पार्टीको स्थापनाको मर्म विपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई छैन।

    २. विगतको केही समय यता पार्टीको अर्को पक्षका साथीहरूसँग र त्यस भित्रका विभिन्न उपसमूहहरूसँग केहि संवाद भए। प्रत्येक संवादहरूमा हामीले पार्टी स्थापनाको मर्म अनुसार नै व्यवस्थालाई सुदृढ गर्दै नागरिकका आवाज बोल्ने पार्टीको रूपमा अगाडी बढाउन प्रस्ताव गर्‍यौँ। तर अर्को पक्षले पार्टीमा विचारको स्पष्टता भन्दा पनि नेतृत्वको महत्त्वाकाङ्क्षा अगाडी सार्दा र पार्टीमा रहेको वैचारिक विचलनलाई सम्बोधन नगरीकनै अघि बढौँ भन्दै गर्दै हामीले त्यसलाई कुनै हालतमा स्विकार्न सकेनौँ। बामे सर्दै गरेको पार्टीमा आज नै व्यक्तिको व्यवस्थापनमा सम्झौता गरेर हामीले भनेको पार्टी बन्दैन। त्यसैले हामीले त्यो बाटो रोजेनौँ, विचारमा सम्झौता गरेनौँ।

    ३. हामी सम्पूर्ण साथीहरूलाई सोध्न चाहन्छौँ पार्टी बचाउने भनेको के हो? निर्वाचन आयोगमा दर्ता गर्नु र फेरि मार्ग परिवर्तनकै लाइनमा उभिएर झगडा गर्नु पार्टी बचाउनु हो ? वा, पार्टीलाई स्पष्ट विचार र एजेन्डासहित अगाडी बढाउनु चाही पार्टी बचाउनु हो ? पार्टी बचाउनु भनेको स्पष्ट विचार सहित, स्पष्ट दिशा सहित अघि बढ्नु हो। हाम्रा लागि नागरिकको अवस्था बदल्नु र नागरिकलाई बलियो बनाउनको लागि गरिने राजनीति नै पार्टी बचाउनु हो। त्यो अवस्थामा पार्टी नफर्कने हो भने, पार्टी बच्न सक्दैन।

    ४. तसर्थ: विवेकशील साझा पार्टी जे प्रयोजन र उद्देश्यका लागि स्थापना भएको हो त्यसमा निरन्तर अगाडी बढ्छ। कमजोर जग र बाङ्गिएको खम्बाहरूमा बलियो र परिपक्व घर बन्न सक्दैन। अतः हालको अवस्थामा पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा पुनर्गठन गरी अघि बढ्नुपर्ने दायित्व हाम्रो हो। वृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्य पछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौँ। हामी छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्नेछौँ।

    मिलन पाण्डे
    २०७९/०४/२९

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology