Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

ओलीको गोजीमा खास ५० नेताको सूची,दसभाईले टिकट नपाउने

ओलीको गोजीमा खास ५० नेताको सूची,दसभाईले टिकट नपाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • ०९:५७:४१ बजे
  • 1.7K
    SHARES
  • ओलीको गोजीमा खास ५० नेताको सूची,दसभाईले टिकट नपाउने

    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । सबै दल तयारीमा जुटेका छन् । सत्तारुढ गठबन्धन सिट बाँडफाँटको मोडालिटी बनाउँदै छ । प्रमुख प्रतिपक्षी दलले भने लगभग कुन क्षेत्रमा कुन पक्षका कुन नेतालाई टिकट दिनेसम्मको तयारी सकेको छ । २०७४ सालको आम निर्वाचनमा नेकपा माओवादी केन्द्रको साथमा नेकपा एमालेले प्रत्यक्षतर्फ ८० सिट जित हाँसिल गर्नुका साथै ७ प्रदेशमध्ये ६ प्रदेशमा सरकारको नेतृत्व गरेको थियो । यस पटक भने एमालेलाई सहज छैन ।

    images

    ०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी अहिले पाँचदलीय गठबन्धनको मुख्य शक्ति हो । यसबाट सबैभन्दा ठूलो नोक्सानी एमालेले भोग्नु परेको छ । किनभने, एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादी पार्टी पनि पाँचदलीय गठबन्धनमा आवद्ध छ । २०७४ सालको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्र थियो ।

    अब आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक्लो एमालेले पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । एमालेले एक्लै कम्तीमा ३५ सिट प्रत्यक्षमा जित्ने भित्री जोडघटाउ गर्दै छ भने एकीकृत समाजवादी पार्टीले पनि ३५ सिट जित्ने आकलनका साथ प्रत्यक्षमा कम्तीमा ३५ सिटको दाबी गठबन्धनसँग गरेको छ । ०७४ मा प्रत्यक्षतर्फ ८० सिट जितेको एमाले आगामी निर्वाचनमा ३५ सिटमा झर्ने विश्लेषणबाटै एमाले कति कमजोर भएछ भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

    एमालेभित्र अहिले दुई किसिमका अभ्यास देखिएका छन् । एउटा अभ्यास हो, कोठाभित्र बसेर गुपचुप रणनीति बनाउने । अर्को हो, पार्टी कार्यालय वा सार्वजनिक स्थलमा बसेर चिन्ता मात्रै गरिरहने । पार्टी विभाजित अवस्थामा भएका कारण र सत्तारुढ गठबन्धनले पुर्याउने क्षतिका बीचमा निर्वाचनलाई सामना गर्ने रणनीति एमालेले अहिलेसम्म अगाडि सारेको छैन । यो कुराले आम कार्यकर्ता पंक्तिमा निराशा छ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा भने दिनदिनै चुनावी हिसाब भइरहेका छन् । त्यहाँ के कुरा हुन्छन् भन्ने सूचना पार्टीका ठूलै नेतादेखि कार्यकर्तासम्मलाई थाहा हुँदैन ।

    पार्टी र संसदीय मोर्चालाई ‘विरोधीमुक्त’ बनाउने ओली नीति जारी छ । त्यसैले एमालेभित्र अहिले ‘खुलेका विरोधी’ र ‘ओलीले ठहर गरेका विरोधी’हरु टिकट र भूमिका नपाइने कुरामा चिन्तित छन् । जसले गर्दा एमालेको संगठनात्मक जीवनमा लामो योगदान पुर्याएका, तर अहिले ओलीले नरुचाएका थुप्रै नेताहरू उम्मेदवारीबाट बञ्चित हुने सम्भावना छ । यदि, त्यस्तो नहुँदो हो र न्यायोचित तवरले उम्मेदवारी तय गरिन्थ्यो भने पार्टी कार्यालयमै बसेर व्यवस्थित रुपमा निर्वाचन रणनीति बनाउने, उम्मेदवारको मापदण्ड निर्धारण गर्ने र कमिटी प्रणालीमा आधारित भएर देशभर उम्मेदवारको सिफारिस संकलन गर्ने काम शुरु हुन्थ्यो ।

    अहिले एमालेमा यस्तो अभ्यास दुर्लभ भएको छ । एउटा कम्युनिष्ट पार्टीले आफ्नो जनाधार विस्तार गर्ने, जनताबीचको पकड कायम राखिराख्ने र आफ्ना एजेण्डालाई स्थापित गराउने आधार हो, संगठन । तर, एमालेको सांगठनिक गतिविधि शिथिल अवस्थामा छ । ओलीलाई खुसी पार्न के गर्ने ? कसरी उनको घरमा पुग्ने र आफ्नो उम्मेदवारी सुनिश्चित गर्ने भन्ने मनस्थितिमा एमाले नेता तथा कार्यकर्ता छन् । ओलीले दुबै धारका राप्रपा, महन्थ-सिके राउतसहितका मधेसवादी र थरुहट दलसँग चुनावी तालमेल गर्ने क्रममा ६० देखि ७० सीट बाँड्ने नीति तय गरेका छन् ।

    यसो गर्दा एमालेले विगतमा जितेकै क्षेत्र पनि यसपटक तालमेलमा परेर गुमाउने स्थिति छ । तर, उनले आफ्नो अति निकटस्थका हकमा भने सम्झौता नगरी उम्मेदवारी दिने योजना बनाएका छन् । विशेषतः शुरुमा माधवकुमार नेपालपक्षीय भएर अन्तिममा उनको साथ छोड्ने १० भाइ र तिनका समर्थक सांसदमध्ये बढीमा तीन जनाले टिकट पाउँदै छन् । स्रोतका अनुसार १० भाइमध्ये युुवराज ज्ञवाली अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा स्थापित छैनन् ।

    अष्टलक्ष्मी शाक्यलाई ‘उमेर पुगेको’ नाममा उनको क्षेत्रबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य वा अञ्जान शाक्यलाई उठाइँदैछ । लालबाबु पण्डितले चुनाव लड्ने मोरङको निर्वाचन क्षेत्र तालमेलमा राप्रपालाई दिएर रेखा थापालाई उठाउने योजना छ । भीम रावलको क्षेत्रमा झपट बोहरा अगाडि बढिसकेका छन् । घनश्याम भुसालको क्षेत्र रुपन्देही–३ मा पनि राप्रपासँगको तालमेलका नाममा दिपक बोहोरालाई उठाउने बलियो सम्भावना छ ।

    भीम आचार्यको क्षेत्र सुनसरी–२ मा जिल्ला पार्टी अध्यक्ष रेवती भण्डारीको उम्मेदवारी करिव निश्चित भएको छ । गोकर्ण विष्टको गुल्मी–२ मा पत्रकार राजेन्द्र अर्याललाई अगाडि सार्ने सम्भावना छ । एमाले स्रोतका अनुसार ओलीले उम्मेदवार बनाउन चाहेका ‘१० भाइ’ मध्येका योगेश भट्टराईलाई ताप्लेजुङबाटै उठ्ने कुरा चुनौतिपूर्ण बनेको छ । उनी नेपाल पक्षमै हुँदा सोही खेमाका डम्बरध्वज तुम्बाहाम्फे ओलीतिर गएका थिए । कारण थियो, ताप्लेजुङबाट योगेशलाई ‘बिदा’ गर्ने ।

    अहिलेको चुनावी रस्साकस्सीमा ताप्लेजुङमा लिम्बू र गैरलिम्बू उम्मेदवारको बहसले चर्को रुप लिइसकेको छ । त्यसैले योगेशलाई झापाको क्षेत्र नं. १ मा झार्ने सम्भावना छ । तर, यदि त्यस्तो भयो भने त्यहाँ उम्मेदवारीको दाबी गरिरहेका ओलीपक्षीय गोपाल बुढाथोकी र पूर्वमाधव नेपाल समूहका चन्द्र भण्डारी नै बाधक बन्ने अवस्था छ । एमालेका अर्का नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ मा तामाङ र चेपाङ समुदायको बाहुल्यता छ ।

    अघिल्लो पटक नै संघीय संसदको टिकट दाबी गरेर पछि प्रदेशसभामा गएका दावा दोर्जे लामाले यसपटक टिकट नपाए बागी नै भए पनि उठ्ने भनिरहेका छन् । रघु पन्तको निर्वाचन क्षेत्र ललितपुर–३ मा बाबुकृष्ण कार्कीलाई अगाडि बढाइएको छ । राप्रपाबाट एमाले प्रवेश गरेका उनी ०७४ को स्थानीय निर्वाचनमा उपमेयरका उम्मेदवार थिए । अरुण नेपालको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ मा यसपटक सरेश नेपालको उम्मेदवारी टुंगो लाग्ने भएको छ ।

    अघिल्लो निर्वाचनमा कञ्चनपुर-३ बाट जितेका दिपकप्रकाश भट्टलाई यसपालि टिकट नदिने पक्कापक्की भएको छ । उक्त क्षेत्रबाट ओलीले निरुदेवी पाललाई उठाउने तयारी गरेका छन् । ०७४ मा कैलाली-२ बाट चुनाव जितेका झपट रावललाई रोक्न उक्त क्षेत्र तालमेलमा सहभागी दललाई दिइने भएको छ ।

    कैलाली रेशम चौधरीको पकड जिल्ला भएका कारण उनकै पार्टीले उक्त क्षेत्र पाउने सम्भावना छ । ओली कोटरीका खास नेताहरूलाई सुरक्षित निर्वाचन क्षेत्रमा लगेर जिताउने योजना बालकोटमा बनेको छ । त्यसका लागि प्रत्यक्षतर्फ ‘जिताउनै पर्ने’ सूचीमा ५० जना र समानुपातिकबाट ‘ल्याउनै पर्ने’मा ३० जनाको नाम समावेश गरिएको एमाले स्रोतले बताएको छ । दुबै प्रणालीबाट सय सिट कटाउने र बाँकी तालमेलमा सहभागी दललाई सघाएर जाने ओलीको योजना छ ।

  • सम्बन्धित विषय:

  • # दसभाईले टिकट नपाउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology