Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा

ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७९ बुधवार • १७:३७:२० बजे
  • 493
    SHARES
  • ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा

    नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।

    images

    विभागका अनुसार काठमाडौंबाट आठ हजार आठ सय ५१, पोखराबाट एक हजार छ सय ७९, बुटवलबाट एक हजार ६४, नेपालगञ्जबाट एक हजार ५०, सुर्खेतबाट चार सय नौ, धनगढीबाट एक हजार ६७, सिलगढीबाट एक सय ७४, वीरगन्जबाट एक हजार दुई सय ५१, जनकपुरबाट एक हजार एक सय ३९, विराटनगरबाट एक हजार चार सय ८५ र झापाबाट आठ सय ४५ व्यापारीलाई कारबाही गरिएको हो ।

    विभागका प्रवक्ता ज्योति जोशी भट्टले नाप्ने र तौलने यन्त्रको प्रयोग गरी उपभोक्तालाई ठगी गरेकाले विभागले उनीहरुलाई कारबाही गरेको जानकारी दिए । उनले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले उनीहरुमाथि विभागले विशेष निगरानी बढाएको बताए ।

    अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको विभागले जनाएको छ । त्यस्ता व्यापारीमाथि कारबाही गर्दै आइएको प्रवक्ता भट्टले बताए । गत आर्थिक वर्षमा २३ हजार ४९ व्यापारीले नापतौल यन्त्र जाँच गराएका छन् ।

    उक्त जाँच गराउने व्यापारीमध्ये काठमाडौंमा धेरै छन् । काठमाडौंमा पाँच हजार छ सय ४१ व्यापारीले यन्त्र जाँच गराएका हुन् । यस्तै, पोखराबाट तीन हजार छ सय ७३, बुटवलबाट एक हजार चार सय ५७, नेपालगञ्जबाट एक हजार एक सय ३७, सुर्खेतबाट सात सय ४८, धनगढीबाट एक हजार सात सय ९३, सिलगढीबाट एक सय ८९, वीरगन्जबाट दुई हजार दुई सय ६३, जनकपुरबाट एक हजार पाँच सय ७८, विराटनगरबाट तीन हजार तीन सय १९ र झापाबाट एक हजार ५१ व्यापारीले सो यन्त्र जाँच गराएका हुन् ।

    सोही आवमा सो यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गर्ने व्यापारीको संख्या ११ हजार तीन सय ६३ रहेको छ । यसैगरी, देशभर नौ हजार ६ सय ५८ ट्याक्सीको मिटर जाँच गर्नुका साथै चार हजार नौ सय ६८ पटक पेट्रोलियम पदार्थ वितरण पम्प जाँच गरेको विभागले जनाएको छ ।

    नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि विभागले ९२ पटक एकल अनुगमन तथा ९१ पटक संयुक्त अनुगमन गरेको छ । यस्तै, विभागले उपभोक्ता ठगी गर्ने ३३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

    विभागले जानीजानी आम सेवाग्राही तथा उपभोक्तालाई ठगी गर्ने क्रम बढेकाले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सीविरुद्ध मुद्दा दायर गरेको बताएको छ । विभागका महानिर्देशक दिनानाथ मिश्रले सीमित स्रोतसाधनकाबीच विभागले बजार अनुगमनलाई प्राथमिकता दिएको बताए ।

    ‘कम जनशक्ति र स्रोतसाधनका कारण सबै स्थानमा पुग्न सकेका छैनौं, विभागले आगामी दिनमा बजार अनुगमनलाई प्राथमिकता राख्छ,’ उनले भने ।

    आम उपभोक्ता ठगी गर्ने जोकोहीलाई विभागले कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । विभागले गत आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत सात करोड १६ लाख ११ हजार आठ सय ५७ रुपैयाँ राजश्वसमेत संकलन गरेको छ ।

  • सम्बन्धित विषय:

  • # व्यापारी कारबाहीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology