काठमाडौं महानगरपालिकाको अनधिृकत संरचना भत्काउने अभियानप्रति उपमेयर सुनिता डंगोल असन्तुष्ट छिन् । पार्किङका लागि भनेर नक्सा पास गरिएका तर, व्यापारिक प्रयोजनमा ल्याइएका नक्सा पास नै नगरी मापदण्डविपरीत बनाइएका घरटहरा भत्काउने अभियानलाई महानगरले तीव्रता दिएको छ । उक्त अभियानको नेतृत्व स्वयं बालेन्द्र साह (बालेन) ले गरिरहेका छन् ।
अधिकांश सार्वजनिक कार्यक्रम र महानगरको अरु गतिविधिमा मेयरकै अगाडि उभिएको देखिने सुनतिा अवैध संरचना भत्काउने अभियानमा भने कतै पनि बालेनसँग देखिएकी छैनन् । श्रोतका अनुसार उनले मेयर साहसँग जबर्जस्ती गर्न नहुने भन्दै उक्त अभियानप्रति आपत्ति जनाएकी छन् ।
सुनिताको दल एमालेका नेताहरुले पनि बालेनको अभियानको विरोध गरेका छन् । सांसदसमेत रहेका एमाले नेता महेश बस्नेतले त यस्तै गतिविधि जारी राखे बालेनविरुद्ध प्रतिकारमै उत्रनेसम्मको चेतावनी दिएका छन् ।
विगतमा आफूले धेरैलाई तह चलाएको भन्दै उनले २/४ सय ट्यापे र फेसबुकेको आडमा चुरीफुरी नगर्न बालेनलाई चेतावनी दिए । उनले बालेन समर्थक ट्यापे र फेसबुकेहरुलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व आफूले गर्ने घाषणा नै गरेका छन् ।
बालेनले बिहीबार काठमाण्डुको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि एमाले वृत्त बढी नै आक्रोशित भएको छ ।
बस्नेतले आफू र आफ्ना अध्यक्ष केपी ओलीसँग अल्फाबिटा सञ्चालकले फोटो खिचाएका कारण डोजर चलाइएको भए बालेनको सन्की र लहडी आतंक बन्द गर्ने चेतावनी फेसबुकमार्फत सार्वजनिक गरेपछि उनी सामाजिक सञ्जालमा लखेटाएमा परेका छन् ।
अवैध संरचना भत्काउने क्रममा अल्फाबिटा सञ्चालक र बालेन्द्रबीच भनाभनसमेत भएको थियो । अल्फा सञ्चालक आफ्नो दलनिकट भएकै कारण उनीमाथि तारो बनाइएको बुझाइ एमाले नेताहरुको छ । उपमेयर डंगोल पार्टीकै निर्देशनमा अभियानमा सहभागी नभएको मेयर बालेन्द्रका एक सहयोगीले बताए ।
‘महानगरका सबै काम र सामाजिक काममा समेत मेयर र उपमेयर कहिल्यै छुटेको देखिँदैन’, उनले भने, ‘एमालेको निर्देशनमा उहाँ अवैध संरचना हटाउने अभियानको विरोधमा हुनुहुन्छ, कतै पनि जानुभएको छैन ।’