हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो । र, रुघाखोकी हेरिन्थ्यो । यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्।
पुष्टि भएका संक्रमितका लक्षण फरकफरक देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘क्लिनिकल’ विश्लेषण गर्न थालेको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमित रहेका सबै अस्पतालमा लक्षणसमेत उल्लेख गर्ने गरी फारम पठाइएको छ । त्यो विवरणका आधारमा नयाँ साझा लक्षण पछि सार्वजनिक गर्ने महाशाखाको योजना छ ।
मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने डा. राजभण्डारीले बताए । उनका अनुसार विदेशमा उपचार गर्दा प्रयोग गरिएका औषधि नेपालमा प्रयोग गरिएको छैन । ‘लक्षणका आधारमा वर्गीकरण गरेर उपचार गर्ने गरिएको छ’, उनले भने ।
उनले ज्वरो मात्र आएका बिरामीलाई प्यारासिटामोल दिने गरिएको बताए । निमोनियाका लक्षण देखिएका संक्रमितको एक्सरे र सिटिस्क्यानसमेत गरिन्छ। अक्सिजनको सहारामा उपचार गर्ने बिरामीलाई विशेष निगरानीमा राखिन्छ । सास फेर्न गाह्रो हुनेलाई सघन उपचार कक्ष (आईसीयू)मा उपचार गरिन्छ। ती सबैको आत्मबल बढाउन मनोसामाजिक परामर्श र आहारव्यवहारमा ध्यान दिने गरिएको उनले सुनाए । अन्नपूर्ण पोस्टबाट