Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतमा दूध उत्पादन बढ्यो

पर्वतमा दूध उत्पादन बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • १६:४१:१३ बजे
  • 313
    SHARES
  • पर्वतमा दूध उत्पादन बढ्यो

    पर्वत । व्यावसायिकरूपमा गाई भैसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लामा पछिल्लो दशकमा व्यावसायिक पशुपालनमा लाग्ने किसानको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ ।

    images

    लामो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको हो । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँसपरालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको छ ।

    त्यसका कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढिरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कुश्माका अनुसार हाल दैनिक २५ सय लिटर हाराहारी दूध बाहिरका जिल्लामा निर्यात हुँदै आएको छ । ‘बागलुङको केही हामीकहाँ पनि आउने गरेको छ’, केन्द्रप्रमुख रामजीप्रसाद पौडेलले भने, ‘हामीकहाँ आउने र जाने हिसाब गर्दा दैनिक १५ देखि १७ सय लिटर दूध जिल्लाबाट बाहिरिन्छ ।’

    उनका अनुसार पश्चिम बागलुङको केही दूध कुश्मामा बिक्री हुँदै आएको छ । हाल कुश्मा बजारमा दूधको मूल्य थोकमा रु।७० देखि रु ८० तथा खुद्रा रु ९० देखि रुएक सय २० मा बिक्री हुँदै आएको छ । दूधालु गाईभैंसीले एकै बेतमा करिब रु एक लाख मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ ।

    कुश्मा–९ का शिव ढकालले गाईको दूधबाटै मासिक रु डेढ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । वैदेशिक रोजगारीमै जाने तयारी गरेका ढकालले कोरोनाका कारण भएको लकडाउनले जान नपाएपछि व्यवसाय बढाएको सुनाए ।

    ‘व्यवसाय पाँच वर्षअघि नै दर्ता गरेको हुँ’, उनले भने, ‘परिवारलाई जिम्मा लगाएर युरोपतिर जाने सोचेको थिएँ, कोरोनाले रोक्यो, त्यसपछि गाई थपें, अब कतै नजाने विचार गरेको छु ।’ करिब ४० रोपनीमा उन्नत घाँस लगाएको उनले १८ माउगाई पाएका छन् । विज्ञ केन्द्रका अनुसार गुणस्तरीय दूधको माग पर्वतलगायत छिमेकी जिल्लामा बढ्दो छ ।

    पछिल्लो तथ्याङ्कअनुसार कुश्मासहित जिल्लाका मुख्य बजारमा दूधको माग दैनिक ४५ सयदेखि पाँच हजार लिटरसम्म छ । त्यसबाहेक पनि दैनिक १७ सय लिटर जिल्लाबाहिर बिक्री हुनुले जिल्लाको अर्थतन्त्रमा पशुपालनले अधिक योगदान गरेको केन्द्र प्रमुख पौडेलको दाबी छ ।

    त्यसबाहेक पशुपालक किसानका समस्या नभएका भने होइनन् । पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेटलगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।

    फलेवासका पशुपालक किसान रमेश शर्माले गुनासो गर्दै भने, ‘अहिले बजारमा दानाको मूल्य अत्यधिक बढेको छ, गाउँमा दानाको कच्चा पदार्थ उत्पादन गर्न बाँदरले दिँदैन, हामी व्यावसायिक किसानका लागि उत्पादनमा आधारित अनुदानमूलक कार्यक्रम ल्याउनुप¥यो ।’

    जिल्लामै दाना उद्योग स्थापना भए व्यावसायिक पशुपालनमा सहज हुने किसानको भनाइ छ । जिल्लाका केही स्थानीय तहले पशुपालक किसानलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम ल्याएका छन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology