बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक हाल प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा छलफलमा छ । नेताहरुका अनुसार शुक्रबार संसदमा रहेका दलहरुका बीचमा सहमति जुटाएर र शनिबार विहान ११ बजे समितिको बैठक राखेर, विधेयक पारित गरी प्रतिनिधिसभाको बैठकमा पेश गर्ने तयारी थियो ।
यसैका लागि प्रतिनिधिसभाको बैठक सार्वजनिक विदाको दिन शनिबार दिउँसो १ बजेका लागि राखिएको छ । तर, शुक्रबार विधेयकको विषयलाई लिएर दलहरुका बीचमा अनौपचारिक छलफल समेत हुन नपाएका कारण शनिबारको तयारी प्रभावित हुने संकेत देखा परेको स्वयं समिति सदस्य सांसदहरु बताउँछन् ।
नेताहरुका अनुसार शुक्रबार एमाले संसदीय दलका उपनेता, प्रमुख सचेतक, सचेतक र केही सांसदहरु, सत्ता गठबन्धनमा रहेका दलका प्रमुख सचेतक, सचेतकहरुसहितको बैठक बसेर सहमतिको प्रयास गर्ने तयारी थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रष्ट सन्देश नआएका कारण एमाले सांसदहरु छलफलमा बस्न तयार भएनन् ।
‘राष्ट्रिय हित हेर्ने, पीडितमैत्री कानुन बनाउने, नेपालले अन्तर्राष्ट्रिय रुपमा गरेका सन्धि र सम्झौताहरुको पालना गर्ने गरी टीआरसी विधेयक अगाडि बढाउन हामीलाई कुन वाधा छैन । तथापि, अध्यक्षज्यूले यसो गरौं भन्नुहुँदा सहज हुन्छ, हामीले ठाने जस्तै निर्देशन चाहिँ अध्यक्षबाट भएको छैन’ एक नेताले भने ।
शुक्रबार दलहरुका बीचमा छलफल गरेर विधेयकमाथि सहमति जुटाउने विषयमा स्वयं सत्तारुढ गठबन्धनले पहल नगरेका कारण सम्भव नभएको एमाले नेताहरुको आरोप छ ।
सत्ता गठबन्धनका नेताहरु भने दफावार छलफल गरिरहेका कारण समितिले नै नेतृत्व गरेर दलहरुका बीचमा सहमति कायम गर्नुपर्ने भएकाले गठबन्धनलाई दोष देखाउनुलाई अलमल्याउन खोजिएको रुपमा लिन्छन् ।
खास गरी नेकपा एमालेले टीआरसी विधेयक जस्ताको तस्तै पारित हुन नहुने अडान राख्दै आएको छ । हत्या, बलात्कार र यौनजन्य हिंसालाई गम्भीर मानव अधिकार उलंघनको परिभाषामा राख्नुपर्ने, द्वन्द्वकालीन मुद्दा हेर्न गठन गर्ने भनिएको विशेष अदालतको फैसला उपर पुनरावेदनको व्यवस्था गर्नुपर्ने र विशेष अदालतमा न्याय परिषदको सिफारिसमा न्यायाधीश पठाउनुपर्ने एमालेको माग छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाल रुपन्देही क्षेत्र नंं ३ मा उम्मेदवार सिफारिस भएका छन् । ३ सँगै क्षेत्र नम्बर १ को कमिटीले पनि उनको नाम सिफारिस गरेको थियो । तर जिल्ला र प्रदेश कमिटीले क्षेत्र नम्बर १ बाट उनको नाम हटाएको छ ।
२०७४ को चुनावमा भूसाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यद्यपि उनको घर भने क्षेत्र नम्बर १ मा पर्छ ।
यो पटक क्षेत्र नम्बर १ को कमिटीले भूसालको नाम पनि सिफारिस गरेको थियो । उनीसँगै पार्टीका सचिव छविलाल विश्वकर्मा, टीकाराम चापागाई लगायतको नाम सिफारिस भएको थियो ।
क्षेत्र नम्बर ३ बाट भूसालसंगै तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, पूर्वसांसद यज्ञजित शाह र दुर्गाप्रसाद भूसाल सिफारिस भएका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राखेकै कारण भूसाललाई सर्वसम्मत उम्मेदवार हुन नदिइएको उनी निकट नेताहरु बताउँछन् ।
३ बाट मात्रै सिफारिस
३० वैशाखको स्थानीय चुनावमा पाएको मतका आधारमा पनि एमालेका लागि ३ भन्दा १ सहज देखिन्छ । भूसालले पनि ३ भन्दा आफ्नो घर भएको १ नम्बर क्षेत्रबाट लड्ने रुची देखाएका थिए ।
तर जिल्ला कमिटीले भूसाललाई रुपन्देही ३ मा मात्र उम्मेदवार बनाउन उपयुक्त हुने रायसहित प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला कमिटीका एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।
‘क्षेत्र नंं १ बाट पनि उहाँको नाम आएको सत्य हो,’ ती पदाधिकारी भन्छन्, ‘एउटै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार नहुने भएकाले उहाँलाई यसअघि जितेको क्षेत्र नै उपयुक्त हुन्छ भन्न रायसहित नाम पठाएका हौं ।’
प्रदेश कमिटीको दुई दिनसम्म चलेको बैठकले पनि भूसाललाई क्षेत्र नम्बर ३ मा सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको पार्टीका प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए । ‘उहाँलाई क्षेत्र नंं १ मा होइन, ३ मा उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गर्ने प्रदेश कमिटीले निर्णय गरेको छ’ घिमिरेले अनलाइनखबरसँग भने ।
उनका अनुसार क्षेत्र नं १ मा छविलाल विश्वकर्मा,२ मा विष्णु पौडेल,३ मा घनश्याम भूसाल, ५ मा खिमलाल भट्टराईलाई उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नं ४ भने उम्मेदवार नै सिफारिस गरिएको छैन । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेलको प्रयास गरिरहेको छ र यो क्षेत्र लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लको क्षेत्र पनि यही हो ।