Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रपतिबाट संविधान उल्लङ्घन, नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

राष्ट्रपतिबाट संविधान उल्लङ्घन, नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७९ बुधवार • १०:१३:२८ बजे
  • 358
    SHARES
  • राष्ट्रपतिबाट संविधान उल्लङ्घन, नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका छन् ।

    images

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेका हुन् । यो संविधानविपरीत छ ।

    संविधानको धारा ११३ को ३ बमोजिम यसअघि राष्ट्रपतिले विधेयक फिर्ता पठाएका थिए । तर, धारा ११३ को ४ अनुसार त्यसरी फिर्ता पठाइएको विधेयक दुबै सदनबाट परिमार्जनसहित वा जस्ताको त्यस्तै पारित भएर आएमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । यो बाध्यात्मक व्यवस्था हो ।

    धारा ११३ को ४ अनुसार मंगलबार राती १२ बजेसम्म राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्ने समय थियो । तर, रातको १२ बजे पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएन । विधेयक प्रमाणीकरण नभएसँगै राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भएको छ । संविधानको संरक्षकको भूमिकामा रहनुपर्ने राष्ट्रपतिबाट संविधान उलङ्घनको भएको भन्दै मध्यरातदेखि नै आलोचना सुरु भएको छ ।

    विगतमा समेत अभिभावकत्व भूमिका प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका राष्ट्रपति यस घटनाबाट थप आलोचित हुने निश्चित छ । नागरिकता विधेयकलाई राष्ट्रपतिको पूर्व दल नेकपा एमाले प्रतिष्ठाको विषय बनाएको छ । राष्ट्रपति पनि पूर्व दलकै निर्णयअनुसार विधेयक प्रमाणीकरण नगर्ने निर्णयमा पुगेको कुरा कहीँ कतै लुकेको छैन ।

    नत्र विधेयक प्रमाणीकरण नगर्नुपर्ने कुनै कारण छैन । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेसँगै नेपाली नागरिकता भएका बुबा र आमाबाट जन्मेका तर वंशजको नागरिकता नपाएका हजारौं नेपाली नागरिक पुनः अनागरिक भएर बाँच्नुपर्ने परिस्थिति दोहोरिएको छ । सार्वभौम संसद्ले पारित गरेर पठाएको विधेयक रोक्ने अधिकार आलङ्कारिक राष्ट्रपतिसँग छैन ।

    राष्ट्रपतिलाई आफै निर्णय गर्ने अधिकार संविधानले दिएको छैन । सार्वभौम संसद्ले पठाएको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपतिले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने संवैधानिक जानकारहरु बताउँछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology