Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुपथ मूल्य पसलले कर्णालीका उपभोक्तालाई राहत

सुपथ मूल्य पसलले कर्णालीका उपभोक्तालाई राहत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७९ शनिवार • १०:२३:३८ बजे
  • 472
    SHARES
  • सुपथ मूल्य पसलले कर्णालीका उपभोक्तालाई राहत

    दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । बजारमा भन्दा सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ । सरकारी स्वामित्वको कम्पनीले बिक्री गर्ने खाद्यवस्तु सस्तो र गुणस्तरीय हुनाका साथै अनलाइन ढुवानीको सुविधा हुँदा उपभोक्ताको आकर्षण यसतर्फ बढेको हो ।

    images

    कम्पनीको वीरेन्द्रनगर–६ स्थित प्रादेशिक गोदाम परिसरमा सुपथ मूल्य पसल सञ्चालित छ । शुक्रबार सुपथ मूल्य पसलमा भेटिएका वीरेन्द्रनगर–३ का रामबहादुर शाहीले बजारभन्दा सस्तोमा पाइने हुँदा आफ्नो टोलका सबै चामल लिन आएको बताए । उनले भने, ‘एक बोरा चामलमै सात सय सस्तो पर्नु धेरै सहुलियत हो, बरु सरकारले यस्तो पसल सधैँ सञ्चालन गरिदिए हुन्थ्यो ।’ वीरेन्द्रनगर–१२ की हीरा परियार पनि चामल लिन दुईपटक सुपथ मूल्य पसल आए ।

    ‘पहिला एक बोरामात्र लिएर गएँ, खाँदा स्वाद ठिकै लागेपछि फेरी चामल किन्न आएकी हुँ’, उनले भने, ‘स्वादिष्ट र सस्तो भएपछि किन बजारको महँगो किन्नु, दुई-चार महिना पुग्ने चामल आजै लैजाने सोच बनाएकी छु ।’ उपभोक्ताको भीड बढेपछि कम्पनीले बिल काट्ने निश्चित समय निर्धारण गरेको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले दिउँसो १ बजेसम्म बिल काट्ने समय निर्धारण गरिएको बताए । एकपटक एक ग्राहकलाई बढीमा एक क्विन्टल चालम बितरण गरिएको छ ।

    ‘यहाँ बजारमा जस्तो मूल्य र नापतौलमा ग्राहक ठगिने अवस्था हुँदैन, दैनिक औसत २०० क्विन्टल चामल बिक्री भइरहेको छ,’ उनले भने, ‘ग्राहकको भीड बढेका कारण हामीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे परेको छ ।’ न्यून आय भएका सर्वसाधारण बढी आएको र उनीहरुले निकै राहत महसुस गरेको कम्पनीका प्रमुख मिश्रको भनाइ थियो ।

    सुपथ मूल्य पसल आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् । पसलमा अरुवा मोटो चामल, सोना मनसुली चामल, स्टिम जिरा मसिनो चामल, बास्मती चामल, अरहर, मास, मसुरोको दाल बिक्रीका लागि राखिएको छ । उक्त कम्पनीले असोज १ गतेदेखि कर्णालीका सल्यानबाहेक नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सल्यान खाद्यान्नमा आत्मनिर्भर भएकाले त्यहाँ कम्पनीको कार्यालय छैन ।

    सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु जिल्लाका डिपोमा यस्ता पसल सञ्चालनमा छन् । कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालयका अनुसार चार हजार सात सय प्रतिक्विन्टल मूल्य रहेको अरुवा मोटो चामलमा सात सय छुट, प्रतिक्विन्टल पाँच हजार रहेको जिरा मसिनो चामलमा सात सय, प्रतिक्विन्टल छ हजार रहेको स्टिम जिरा मसिनो सात सय र प्रतिक्विन्टल १० हजार पाँच सय पर्ने बास्मती चामलमा रु सात सय छुट दिइएको छ ।

    त्यस्तै अरहर, मास र मसुरोको दालमा पनि प्रतिकेजी रु सात छुट दिइएको छ । कम्पनीले अनलाइन अर्डर गर्ने ग्राहकलाई घरमै डेलिभरीको व्यवस्था पनि मिलाएको छ ।

    उक्त कार्यालयको अन्य जिल्लाका सहुलियत मूल्य पसलमा पनि उपभोक्ताको आर्कषण बढेको जनाएको छ । मुगु, डोल्पा, जुम्ला, दैलेख र कालीकोटमा सुर्खेतबाट थप चालम पठाइएको छ । ‘त्यहाँ मौज्दात चामल सकिन थालेपछि थप पठाइएको छ’, प्रमुख मिश्रले भने, ‘गोदाममा चामलको अभाव हुन नदिन ढुवानीकर्तालाई निरन्तर ताकेता गरिरहेका छौँ, ढुवानीको वैकल्पिक व्यवस्था पनि मिलाइएको छ ।’

  • सम्बन्धित विषय:

  • # सुपथ मूल्य पसल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology