Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’

‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७९ मंगलवार • ०९:५३:२२ बजे
  • 709
    SHARES
  • ‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’

    सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै ठूलो भारी बोकेका थिए । भारी थियो डालोको ।

    images

    फूलबुट्टा भरेको डालो । यहीमाथि रातो खैरो रङ लगाएर आकर्षित बनाएका थिए । बजारका धेरै मानिसले दुई युवालाई हेरि रहेका थिए । उनीहरु भने आफ्नै पारामा हिँडिरहेका थिए । उनीहरु हुनुहन्थ्यो, पूर्वी रुकुमदेखि आएका निरकुमार बुढामगर र प्रकाश घर्तीमगर ।

    दशैँका लागि खर्च जोहो गर्नका लागि डालो बेच्न बुर्तिबाङ आएका उनीहरुले सोचेअनुसारको बिक्री गर्न सकेनन् । दुई-दुई सय डालो बोकेर आएका उनीहरुले जम्मा एक सय मात्रै बिक्री गर्न सफल भएका थिए । एकातिर दशैँको टीकाको दिन नजिकिँदै गर्दा उनीहरुमा गाउँ फर्किने आत्तुरी थियो भने अर्कोतिर डालो बिक्री हुन नसकेपछि मनमा पिर पनि पलाइरहेको थियो ।

    ‘दुई दिन अगाडि आएको हो, यसपालि डालो बिक्रीनै हुन सकेन, डालो बेचेर दशैँ मनाउँला भनेको जम्मा एक सय मात्रै बिक्री भयो । अझै तीन सय ५० डालो बेच्नै बाँकी छ । दशैँ आइसक्यो, यस पटक अलि ढिला पनि आइयो, सामान किनेर लैजाने भनेको कसैले किन्दैनन्, पहिले–पहिले त एकै दिनमा सबै डालो बिक्री हुन्थ्यो’, उनले भने ।

    पहिले–पहिले ठूलो–ठूलो डाला बजारमा ल्याउने गरेकोमा यस पटक भने साना डालो मात्रै लिएर आएको बुढामगरको भनाइ छ । बजारमा सानो डालोको माग बढेपछि यसपटक केही ठूला र साना आकारका डालो बिक्रीका लागि ल्याएको उनी बताउछन् ।

    ‘वैशाखमा आउँदा दुई पाथी र पाँच पाथी अटाउने डालो ल्याएका थियौँ, त्यस बेला सानो डालाको माग बढेको थियो, अहिले एक पाथी, चार माना र दुई माना जाने डालो ल्याएर आएको खास्सै बिक्री गर्नै सकिएन’, उनले भने, ‘वर्षको दुई सिजन डाला बजारमा बिक्री गर्न ल्याउने गरेका छौँ, यसभन्दा अगाडि पनि यहाँ र खर्बाङसम्म पुगेका थियौँ, त्यस बेला व्यापार राम्रो भएको थियो ।’

    आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको १२ वर्षभन्दा बढी भएको उनले सुनाए । केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डालोहरु पछिल्लो समय यसको लोकप्रियता कम हुँदै गएको उनीहरुको भनाइ छ ।

    बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्री आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको निरकुमारको भनाइ छ । परम्परागत नापतौल गर्ने तुलको रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # डालो र नाङ्लो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology