समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा- २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रचण्डको जितका लागि शुभकामना व्यक्त व्यक्त गरेका हुन्। माओवादीको शुक्रबार साँझ बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो।
गोरखा क्षेत्र नम्बर २ यसअघि डा. भट्टराई निर्वाचित भएको क्षेत्र हो। यो पटक डा. भट्टराईले प्रत्यक्षमा चुनाव नलड्ने बताउँदै आएका छन्। डा. भट्टराईले गोरखा २ बाट प्रचण्डको उम्मेदवारी ठूलो सांकेतिक महत्त्व रहेको उल्लेख गरेका छन्। ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यस पटक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्याशी बन्ने निर्णयको म अन्तर हृदयदेखि स्वागत गर्दछु।
वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्त्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना!’ डा. भट्टराईले लेखेका छन्।
२०६४ सालमा रोल्पा-२ र काठमाडौं-१० बाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं-१० बाट पराजित हुँदा सिरहा-५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन-३ बाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने गोरखा-२ बाट उम्मेदवार हुन लागेको हुन्।
गोरखाका माओवादी नेता-कार्यकर्ता र जनप्रतिनिधिले प्रचण्डलाई भेटेर चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मेहनत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने तर्क गरेका थिए।