नेकपा एमाले फुट्नसक्ने परिस्थिति विकास भएको छ । एमालेभित्रको डा. भीम रावल समूह र टिकट नपाएको असन्तुष्ट समूह पार्टीबाट अलग हुने तयारीमा लागेपछि फुटको सम्भावना बढेको हो ।
एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले एमाले छाडिसकेका छन् । रावल र भुसालले आगामी कदमबारे टेलिफोनमार्फत् छलफल गरेको बुझिएको छ ।
एमालेभित्र टिकट नपाएका असन्तुष्ट समूहलाई समेत समेटेर रावलले आगामी कदम चाल्ने बुझिएको छ ।
उनी सत्ता गठबन्धनसँग मिलेर जाने वा स्वतन्त्र तरिकाले जानेबारे टुंगो लाग्न बाँकी रहेको विश्वस्त स्रोतले बताएको छ । तर, रावल एमालेभित्रै रहने सम्भावना भने लगभग सकिइसकेको बुझिएको छ ।
नेकपा एमाले अछाममा विद्रोह
नेकपा एमालेले अछाम-१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि अछाममा विद्रोह भएको छ ।नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहसहित ४० जनाले एमाले जिल्ला कमिटी अछामलाई सम्बोधन गर्दै पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।
अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनीहरुले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरे पनि केन्द्रले नमानेपछि विद्रोह गर्नुपरेको उल्लेख छ ।
पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन् ।
अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा भपट बोहोरालाई टिकट दिएका थिए । बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।