मधेस प्रदेशमा टिकट नपाएका नेताहरू पार्टी परित्याग गर्नेको लर्को लागेको छ। टिकट नपाएपछि नेताहरूले अरू दल प्रवेश गरी र स्वतन्त्र उम्मेदवारी दिनेको लर्को लागेको हो।
जनता समाजवादी पार्टी (जसपा) मधेसप्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेस प्रवेश गर्न लागेका छन्। उनीसँगै प्रदेश कमिटी सदस्य बजरंग यादव, डा. शत्रुघन यादव लगायतका नेता कार्यकर्ता पनि कांग्रेस प्रवेश गर्दैछन्।
कांग्रेसले धनुषा क्षेत्र नम्बर ४ को (क) बाट टिकट समेत दिइसकेको शेषनरायणले बताए। जसपाले यस क्षेत्रबाट निवर्तमान प्रदेशसभा सदस्य एवं मधेसप्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई टिकट दिएको छ।
त्यसैगरी नेकपा एमालेले टिकट नदिएपछि प्रदेशसभा सदस्य किशोरी साह जनमत पार्टी प्रवेश गरेका छन्। उनी २०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
अहिले उनी जनमत पार्टीबाट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेका हुन्। त्यसैगरी लोसपा नेतृ सुरिता साहले पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिन लागेकी छन्।
पूर्व संचार राज्यमन्त्री समेत रहेकी उनी २०७४ सालको निर्वाचनमा महोत्तरीको क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभामा निर्वाचित भएकी थिइन्। यही क्षेत्रबाट उनले मनोनयन दर्ता गराउन लागेकी हुन्।
यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट महोत्तरी जिल्ला सभापति नागेश्वर यादवले टिकट पाएका छन्। जसपाका नेतृ एवं मधेस प्रदेशका अर्थ राज्यमन्त्री उषा यादवले पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन्।
बारा निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट स्वतन्त्र उम्मेदवारीको तयारी गरेपनि अन्तिम निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिइन्। कांग्रेसबाट टिकट नपाएपछि पर्साका नेता सुधिर पटेलले समेत स्वतन्त्र उम्मेदवारी दिन लागेका छन्।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट स्वतन्त्र उम्मेदवारी दिने लागेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। जसपाका केन्द्रीय सदस्य लक्ष्मी महतो पनि एमाले प्रवेश गरेका छन्।
एमाले सचिव रघुविर महासेठले उनलाई पार्टी प्रवेश गराएका हुन्। महतोलाई महोत्तरीको क्षेत्र नं. १ बाट एमालेले प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। जसपाबाट टिकट नपाएपछि उनी एमाले प्रवेश गरी चुनाव लड्न लागेका हुन्।