Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विद्युत् निर्यातबाट ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी: कुलमान घिसिङ

विद्युत् निर्यातबाट ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी: कुलमान घिसिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७९ बुधवार • ०९:४५:२४ बजे
  • 661
    SHARES
  • विद्युत् निर्यातबाट ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी: कुलमान घिसिङ

    नेपालबाट भारतर्फ हुने विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् जेठ १९ बाट बिक्री सुरु गरेको थियो ।

    images

    इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत नेपालको विद्युत् बिक्री गरेको हो । असोज २५ सम्ममा १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

    देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    ‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो,’ उनले भने । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ । सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो ।

    त्यसपछि जेठ २७ बाट ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु अर्थात् ७ अर्ब ९३ करोड रुपैयाँबराबरको भारतीय मुद्रा नेपाल भित्रिएको छ ।

    यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

    आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको

    छ। प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ।

  • सम्बन्धित विषय:

  • # विद्युत् निर्यातबाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology