नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पनि आफ्नो पार्टीले हालको चौथो स्थान कायमै राख्ने दाबी गरेका छन् ।
सत्तारुढ गठबन्धनबीच सिट बाँटफाँट हुँदा आफ्नो पार्टीको भागमा परेको सबै सिटमा जित हासिल गर्दै आफ्नो पार्टीले हालको चौथो स्थान कायम राख्ने दाबी गरेका हुन् ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले राम्रो जनआधार बनाइसकेको र गठबन्धनबाट पनि इमानदारी प्रस्तुत हुने भन्दै आफ्नो पार्टीले अहिलेकै पोजिसन कायम राख्ने दाबी गरेका हुन् । अध्यक्ष नेपालले भने– ‘म ठूलो कुरा गर्न चाहन्न । गठबन्धनबीच सिट बाँडफाँट हुँदा हाम्रो भागमा परेको सबै निर्वाचन क्षेत्र जित्छौ ।
समानुपातिक भोट पनि राम्रै आउँछ । त्यसैले हामी अहिलेको चौथौ स्थान कायमै राख्छौँ ।’ अध्यक्ष नेपालले गठबन्धनबीच सिट बाँडफाँट हुँदा चित्त नबुझे पनि चित्त बुझाएर अघि बढ्नुपर्ने परिस्थिति रहेको समेत बताएका छन् ।
नेपालले भने– ‘गठबन्धनबीच भएको सिट बाँडफाँट चित्तबुझ्दो छैन । तर, अहिलेको अवस्थामा चित्त बुझाएर जानुपर्ने परिस्थिति छ । हामीले जति पाएका छौं, पाएका जतिमा जित हासिल गर्नुपर्नेछ ।’
अध्यक्ष नेपालले गठबन्धनबीच भएको सहमतिअनुसार आफ्नो पार्टीको भागमा गरेका कतिपय प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धनआवद्ध दलहरूबाटै सहमतिविपरीत उम्मेदवारी परेको भन्दै चित्त दुखाएका छन् ।