Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

घनश्यामलाई जित निकाल्न कति सहज ?

घनश्यामलाई जित निकाल्न कति सहज ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७९ सोमवार • १०:०३:२२ बजे
  • 373
    SHARES
  • घनश्यामलाई जित निकाल्न कति सहज ?

    रुपन्देहीको निर्वाचन क्षेत्र–१ को चुनावी माहोल रोचक मोडमा पुगेको छ । नेकपा एमाले सचिव नेता छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल आमनेसामने हुने भएपछि यस क्षेत्र यतिबेला सबैको चासोको केन्द्र बनेको छ । केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका विश्वकर्मा र भुसाल अहिले एकअर्काका सामान्य प्रतिस्पर्धी मात्रै नभएर आलोचक बनेर मत मागिरहेका छन् । दुवैले एक अर्कालाई तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहेका छन् ।

    images

    एमालेका विश्वकर्मालाई जसपा र राप्रपाको समर्थन छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन् । विश्वकर्मा र भुसालको रोचक प्रतिस्पर्धा सत्ता गठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक र सबैको चासोको केन्द्र बनेको छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका देवदह निवासी टीकाराम चापागाईँ पनि चुनावी प्रतिस्पर्धामा छन् । दुवै गठबन्धनको मत आफूले तान्ने भन्दै आफुले जित्नेमा उनी ढुक्क छन् ।

    रुपन्देही क्षेत्र १ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका वडा ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ ओमसोतिया गाउँपालिका र रोहिणी गाउँपालिका पर्छ । केही दिनअघि एउटै पार्टीका नेता यतिबेला फरक फरक दलबाट उम्मेदवार बनेर घरदैलोमा पुग्दा मतदाता अलमलमा परेका छन् ।

    स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार भुसालको गठबन्धनभन्दा एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतको हाराहारीमा अगाडि देखिन्छ । पार्टीको सङ्गठन र विगतको मत हेरेर नै जित्ने आधार भएको एमाले उम्मेदवार विश्वकर्माको भनाइ छ । यता घनश्याम भुसालले एमालेको मत काट्ने अनुमान गरिएको छ । प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसको सबै भोटसहित गठबन्धनको भोट आफूले पाउने भुसालको दाबी छ ।

    नेता भुसाल २०७४ मा गृहनगर रहेको रुपन्देही क्षेत्र ३ मा एमालेबाट चुनाव लडेर जितेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही –१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी विश्वकर्मा नै थिए ।

    यस क्षेत्रमा १ लाख ३९ हजार ५ सय ६० मतदाता छन् । वैशाख ३० को स्थानीय चुनावको मतलाई आधार मान्दा भुसालभन्दा विश्वकर्मा अगाडि छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा, लोसपा र राष्ट्रिय जनमुक्ति पार्टीको मत जोड्दा करिब ४० हजार छ ।

    यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको स्थानीय तहको प्राप्त मत करिब ५२ हजार रहेको छ । त्यसबाहेक ७ हजार मतदाता अहिले थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा अन्य दल र स्वतन्त्र उम्मेदवारमा पनि केही मत बाँडिने देखिन्छ । रुपन्देही १ (१) मा नेपाली कांग्रेसका विश्वनाथ यादव र राप्रपाका आशिषकुमार चौधरी प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवारले निर्वाचन आफनो पक्षमा रहेको दाबी गरिरहेका छन् ।

    स्थानीय चुनावको परिणाम अनुसार यहाँ सत्तागठबन्धनको पक्षमा करिब २० हजार र एमाले-राप्रपा-जसपासँग करिब २८ हजार मत छ । प्रदेशसभा २ मा एमालेका दधिराम न्यौपाने र कांग्रेसका अव्दुल रज्जाक उठेका छन् । यहाँ सत्तागठबन्धनको करिब २० हजार र एमाले-राप्रपा-जसपाको करिव २४ हजार मत छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology